काठमाण्डौ । शिवम् सिमेन्टको सेयर होल्ड गरेर बस्नेहरुले १२ कारोबार दिनको अवधिमा ४७ प्रतिशतभन्दा बढीले सम्पत्ति बढाएका छन् ।

बैशाख ११ गते दोश्रो बजारमा शिवम् सिमेन्टको मूल्य उसले जारी गरेको आइपीओ मूल्य नजिक पुगेको थियो । सो दिन शिवम् सिमेन्टको अन्तिम बिक्री मूल्य ३०७ रुपैयाँ प्रतिकित्ता रहेको थियो । 

त्यसपछि बढ्न थालेको यो कम्पनीको सेयर मूल्यले आइतबार पोजिटिभ सर्किट हान्दै ४५२ रुपैयाँको उचाई चुमेको छ । बैशाख ११ गतेको मूल्यसँग तुलना गरेर हेर्ने हो भने केवल १२ वटा कारोबार दिनमा शिवम सिमेन्टको सेयरधनीले ४७.२३ प्रतिशतले सम्पत्ति बढाएका छन् । 

पछिल्ला दिनहरुमा शिवम् सिमेन्टको मूल्य अनपेक्षित रुपमा बढिरहेको छ । यो कम्पनीको सेयर मूल्य बढ्नुलाई कतिपयले निकै राम्रो तेश्रो त्रैमासिक रिपोर्ट प्रकाशन गर्दैछ भन्ने हल्लालाई विश्वास गरेका देखिन्छ । किनभने शिवम् सिमेन्टले तत्काल उत्पादन क्षमता बढाउने, लगानी थप्ने भन्ने जस्ता अन्य राम्रा विकल्पहरुमा कुनै पनि काम गरिरहेको छैन । 

यो कम्पनीको सेयर मूल्य बढिरहनुमा दुईवटा कारण देखिन्छ । पहिलो: राम्रो त्रैमासिक रिपोर्ट आउँदैछ र त्यसबाट यो वर्ष राम्रो लाभांश पाइन्छ भन्ने आशा । दोश्रो : सेयर खेलाडीहरुले सुनियोजित रुपमै कम्पनीको सेयर बढाउन खेलेको खेलमा लगानीकर्ताहरु लोभिनु(फस्नु) । 

कतिपय जानकारहरुले त शिवम् सिमेन्टको सेयर मूल्यमा संगठित रुपमै गिरोहले चलखेल गरेको र सोझा त्यही ट्रयापमा परिरहेकासम्मको दाबी गर्न थालेका छन् । 

तर, कम्पनीले निकै राम्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दैछ भन्ने हल्लाको कुनै आधार छैन, त्यसैगरी सुनियोजित रुपमा मूल्य बढाइँदैछ भन्ने तर्क गर्नेहरुले समेत भरपर्दो आधार भने दिन सकेका छैनन् । 

यस्तो बेलामा लगानीकर्ताहरुले अझ धेरै सचेतता अपनाउन आवश्यक हुन्छ । किनभने बुल ट्रयापमा पारेर कुनै निश्चित कम्पनीको सेयर मूल्य बढाएर उच्च रेटमा बिक्री गर्ने नेपाली सेयर बजारको खेल नौलो होइन ।