काठमाण्डौ । शिवम् सिमेन्टमा फेरि उच्च खरीद चाप देखिएको छ । 

केही दिनअघिदेखि बढेर बीचका केही दिन सुस्ताएको शिवम् सिमेन्टको सेयर मूल्य फेरि बढ्न थालेको हो । 

असोज १७ गते शिवम सिमेन्टको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३२८ रुपैयाँ रहेको थियो । त्यसपछि बैशाख १९ गते ३४४ रुपैयाँ पुगेको सेयर बैशाख २२ गते बढेर प्रतिकित्ता ३५८ रुपैयाँको उचाईमा पुग्यो।

बैशाख २३ गते अझ बढेर प्रतिकित्ता ३८८ रुपैयाँ पुगेको शिवमको सेयर मूल्य बैशाख २४ गते  करेक्सन भई ३७९ रुपैयाँमा सीमित थियो । 

त्यसपछि पुनः बढेर बैशाख २५ गते ३९० रुपैयाँ पुगेको शिवमको मूल्य बिहीबार कारोबार समय सकिन आधा घण्टा बाँकी छँदा बढेर ४१४ रुपैयाँ पुगेको छ । 

मार्केट डेप्थमा यो अवधिसम्म शिवम् सिमेन्टमा ७३ हजार २०० कित्ताको बाई(खरीद) अर्डर पोष्ट भएको छ भने १५ हजार ९९५ कित्ताको बिक्री अर्डर पोष्ट भएको छ । 

बिक्री गर्न चाहनेले प्रतिकित्ता ४२० रुपैयाँसम्मको मूल्य लगाएका छन् । 

शिवम् सिमेन्टले आक्रामक व्यापार बिस्तार गरेको र यसको फलस्वरुप कम्पनीको तेश्रो त्रैमासिक वित्तीय विवरण समेत उत्साहप्रद आउने आँकलनका बीच लगानीकर्ता यो कम्पनीको सेयर किन्न झुम्मिएका हुन् । 

शिवम् सिमेन्टले अर्को साताभित्र तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न खोजिरहेको उद्योगस्थित स्रोतले जनाएको छ । स्रोतले अघिल्लो तेश्रो त्रैमासको तुलनामा कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा निकै राम्रो ग्रोथ गरेको छ । यही सूचना बजारमा चुहिएका कारण पनि कम्पनीको सेयर उठाउने होड चलेको देखिएको छ । 

कतिपय लगानीकर्ताहरुले सरकारले नीति तथा कार्यक्रममा सिमेन्टलाई देशले प्रमुख निर्यातजन्य वस्तुको रुपमा अगाडि बढाउने विषय समेटेपछि सिमेन्टको लगानीले उभो लगाउने आत्मबल जागेको भन्दै सेयर उठाइरहेका छन् । सरकारले सिमेन्ट उद्योगलाई प्राथमिकता राखेको बिषयले सिमेन्टको बजार भाउ बढाएको हो । शिवम् आइपीओ जारी गरी दोश्रो बजारमा सेयर कारोबार भइरहेको देशको एक मात्र सिमेन्ट उद्योग हो।