काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको दोश्रो दिन पनि शिवम सिमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । 

यो दिन समेत शिवम सिमेन्टको सेयरमा खरीद अर्डर शून्य छ भने १ लाख १८ हजार भन्दा बढी कित्ता बिक्रीका लागि अर्डर पोस्ट भए पनि खरीद गर्ने नहुँदा त्यसको म्याचिंग हुन सकेन ।

बजार खुलेदेखि नै शिवम सिमेन्टको निकै ठूलो कित्ता सेयर बिक्री अर्डरमा राखिएको थियो । 

आइतबारदेखि दोश्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य कारोबार सुरु भएको केही मिनेटमै ५ प्रतिशतको हाराहारीमा घटिसकेको थियो । पछि १० प्रतिशतको हाराहारीमा घटेपछि नेगेटिभ सर्किट लागी कारोबार नै बन्द भयो ।

शिवम सिमेन्टको पहिलो कारोबार आइतबार प्रतिकित्ता ४६४ रुपैयाँमा भएको थियो । त्यसपछि मूल्यमा निरन्तर पहिरो गइरहेको छ । दुई दिनको अवधिमा यो कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता ८७ रुपैयाँको गिरावट आइसकेको छ । आइतबार समेत कम्पनीको मूल्यमा भारी गिरावट आएसँगै नेगेटिभ सर्किट लागेको थियो । 

नेप्सेले यो कम्पनीको सुरुवाती रेञ्जमा अधिकतम मूल्य ४८४ तोकेको थियो । सोमबार न्यूनतम ३७७ रुपैयाँ देखिन अधिकतम ४१५ रुपैयाँसम्मको बिक्री आदेश पोष्ट भएको थियो । 

शिवम सिमेन्टले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ बिक्री गरेको थियो । 

यस्तै, आयोजना प्रभावितलाई प्रिमियमसहित २०० रुपैयाँको दरले आइपीओ बेचेको थियो ।

उता, युनिभर्सल पावर कम्पनीको हालत पनि उस्तै छ । 

यो कम्पनीको मूल्यमा आइतबार उच्च गिरावट भई नेगेटिभ सर्किट लागेको थियो । सोमबार समेत यो निरन्तर भयो । यो कम्पनीको मूल्य घटेर सोमबार २४३ प्रतिकित्तामा सीमित भएको छ । 

बजार खुलेको केही समयमै युनिभर्सल पावरको सेयर मूल्य १० प्रतिशतले घटेको थियो । 

यो कम्पनीको सेयरमा समेत उच्च बिक्री अर्डर देखिएको छ । खरीद गर्ने भने कोही छैनन् । मार्केट डेप्थमा १ लाख ३२ हजार भन्दा बढी कित्ता सेलमा राखिएको छ ।