काठमाण्डौ । शिवम् सिमेन्ट लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणलाई प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

प्रिमियम मूल्य नतोकी यो सिमेन्ट कम्पनीले आइपीओ निश्कासनको प्रस्ताव आगामी माघ २१ गते आह्वान गरिएको विशेष साधारणसभामा प्रस्तुत गरेको हो । यसको अर्थ यो कम्पनीको आइपीओ लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा किन्न पाउने छैनन्, त्यसभन्दा बढी नै तिर्नुपर्नेछ ।

यो उद्योगको हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँ रहेको छ । विशेष साधारणसभामा यसलाई वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र संसोधित जारीपूँजीको कुल ४ करोड ४० लाख कित्तामध्ये  ५२ लाख ८० हजार कित्ता सेयर आयोजना(उद्योग) प्रभावित क्षेत्र र सर्वसाधारणका लागि निश्कासन गर्ने प्रस्ताव गरिएको हो ।

गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने कानूनी व्यवस्था गरेको थियो । यही व्यवस्थामा टेकेर प्रिमियम मूल्यमा सेयर निश्कासन गर्ने प्रक्रिया थाल्ने शिवम् देशकै पहिलो सिमेन्ट उद्योग हो ।

शिवम सिमेन्टको उत्पादन युनिट मकवानपुरको हेटौडामा रहेको छ । ८ वर्षअघि स्थापित यो उद्योगले आफ्नै चुनढुंगा खानीबाट दैनिक १ हजार २ सय ५० टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । पछिल्लो समय शिवम्ले चीनको होङसी सिमेन्टसँग साझेदारी गरेर उत्पादन क्षमता वृद्धिको अन्तिम  तयारीमा छ । यो पूरा भएपछि शिवम्ले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न थाल्नेछ ।