काठमाण्डौ । शिवम् सिमेन्टले तेश्रो त्रैमाससम्म खूद नाफा १ अर्ब माथि कटाएको खबरका कारण लगानीकर्ताले मरिहत्ते गरेर सेयर खरिदारी गर्न खोज्दा सोमबार पनि यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । 

शिवमको मूल्य १० प्रतिशतको हाराहारीमा बढेर ४९७ प्रतिकित्ताको उचाईमा पुगेको हो । 

प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ बिक्रीसँगै दोश्रो बजारमा सूचिकृत भएको यो कम्पनीको सेयर मूल्य पहिलोपटक ५०० नजिक पुगेको हो । 

यो कम्पनीको सेयर दोश्रो बजारमा कारोबारका लागि सुरुवाती रेञ्ज रु. १६१.६० देखि ४८४.८० रुपैयाँ तोकिएको थियो । दोश्रो बजारमा कारोबारमा आएलगत्तै यो कम्पनीको सेयर मूल्यमा केही दिनसम्म लगातार नेगेटिभ सर्किट लागेर आइपीओको मूल्य ३०० नजिक पुगेको थियो । 

तर, पछिल्ला केही दिनमा शिवम सिमेन्टको मूल्यमा यूटर्नको अवस्था देखिएको छ । 

सोमबार मूल्यमा पोजिटिभ सर्किट लाग्दा समेत यो कम्पनीको सेयरमा अधिक खरीद चाप देखिएको थियो । मार्केट डेप्थमा १ लाख २१ हजार ७५३ कित्ता खरीदका लागि अर्डर पोस्ट भएको देखिन्छ भने बिक्रीतर्फ कुनै कित्ता राखिएको छैन । 

शिवम सिमेन्ट्स लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको रिपोर्ट सोमबार सार्वजनिक गरेको थियो ।

चौथो त्रैमाससम्म पनि नाफाको यो गति कायमै रहे शिवम सिमेन्ट्सले यो वर्ष १ अर्ब ४१ करोड बढी खूद नाफा आर्जन गर्ने देखिन्छ । यो कम्पनीमा सेयर प्रिमियमको रुपमा ९४ करोड रुपैयाँ सञ्चित रहेको छ । 

यसरी चौथो त्रैमाससम्मको खूद नाफा र सेयर प्रिमियम गरी कुल २ अर्ब ३५ करोड रुपैयाँ हुनेछ । यो रकममा नियामकीय व्यवस्थाका लागि केही प्रतिशत सञ्चित गरेपछि बाँकी लाभांशको रुपमा वितरण गर्न मिल्छ ।  यो कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो हिसाबले चालु आर्थिक वर्षका लागि समेत यो कम्पनीले लगानीकर्तालाई निकै आकर्षक लाभांश दिनसक्ने देखिन्छ । 

यही कुरा बुझेका लगानीकर्ताले मरिहत्ते गरेर शिवम् सिमेन्टको सेयर उठाउन खोजेका जानकारहरु बताउँछन् । 

१३ दिनमै रु. १९० वृद्धि !
शिवम सिमेन्टको सेयर मूल्य १३ कारोबार दिनको अवधिमै प्रतिकित्ता १९० रुपैयाँले बढिसकेको छ । 

बैशाख ११ गते दोश्रो बजारमा शिवम् सिमेन्टको मूल्य उसले जारी गरेको आइपीओ मूल्य नजिक पुगेको थियो । सो दिन शिवम् सिमेन्टको अन्तिम बिक्री मूल्य ३०७ रुपैयाँ प्रतिकित्ता रहेको थियो । 

त्यसपछि बढ्न थालेको यो कम्पनीको सेयर मूल्यले आइतबार पोजिटिभ सर्किट हान्दै ४५२ रुपैयाँको उचाई कायम गरेको थियो । सोमबार समेत सर्किट लागी मूल्य ४९७ को उचाईमा पुगेको हो ।