काठमाण्डौ । शिवम सिमेन्टले प्रत्येक दिनजसो कमाल गर्न थालेको छ । यो कम्पनीको सेयर मूल्य नयाँ वर्षको एक महिनाको अवधिमा ७७ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

नयाँ वर्षको पहिलो कारोबार दिन बैशाख २ गते शिवम सिमेन्टको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ रहेको थियो । 

नयाँ वर्षको ओपनिङ महिना बैशाख ३१ गते मंगलबार पोजिटिभ सर्किट लागी यो कम्पनीको मूल्य प्रतिकित्ता ५४६ रुपैयाँ पुगेको छ । यो हिसाबले बैशाख २ गतेको दिन शिवम् सिमेन्टको सेयर दोश्रो बजारबाट उठाउनेले समेत ७७.२७ प्रतिशत सम्पत्ति बढाएका छन् ।

प्रिमियम मूल्यसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले शिवम्को आइपीओ खरीद गरी होल्ड गर्नेहरुले अढाई महिनामै ८२ प्रतिशत रिटर्न पाएका छन् । 

शिवम सिमेन्टले सन्तोषजनक तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेसँगै र प्रकाशन गर्नुअघिदेखि नै दोश्रो बजारमा तीव्र गतिमा भाउ बढिरहेको छ । 

पछिल्ला केही दिन यो कम्पनीले लगातार पोजिटिभ सर्किट हानिरहेको छ । लगातार पोजिटिभ सर्किट हान्दा समेत कम्पनीको सेयरमा बिक्री अर्डर शून्यको हाराहारीमा छ भने खरीदतर्फ अत्यधिक चाप देखिएको छ । 

मंगलबार पोजिटिभ सर्किट लागी यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा खरीदतर्फ ९४ हजार ५२५ कित्ताको अर्डर पोस्ट भएको देखिन्छ ।

बिक्रीतर्फ कुनै अर्डर पोस्ट नहुनुले यो कम्पनीको सेयर खरीद गर्न चाहने मात्र छन् भन्ने देखाउँछ । छोटो समयमै निकै राम्रो रिटर्न दिंदा समेत लगानीकर्ताहरु यो कम्पनीको सेयर बिक्री गर्न चाहिरहेका छैनन् । यसबाट कम्पनीको मूल्य अझै बढ्नसक्ने उनीहरुमा आशा रहेको बुझ्न सकिन्छ ।