काठमाण्डौ । पछिल्लो समयको बजारको हटकेक शिवम सिमेन्टको सेयरमा उच्च खरीद चाप देखिएको छ । 

कारोबार समय सकिन करिब सवा घण्टा बाँकी छँदा मार्केट डेप्थमा यो कम्पनीको सेयरमा एकाएक उच्च खरीद चाप देखिएको हो । 

नेप्सेमा सूचिकृत देशकै पहिलो सिमेन्ट उत्पादन गर्ने उद्योगको रुपमा रहेको यो कम्पनीमा यो समाचार तयार पार्दासम्म ८५ हजार ४१५ कित्ताको खरीद अर्डर पोष्ट भएको छ । 

बिक्रीतर्फ भने १४ हजार २८४ कित्ता पोष्ट भएको छ । शिवम सिमेन्टको दोश्रो बजार मूल्य यो समाचार तयार पार्दासम्म प्रतिकित्ता २१ रुपैयाँले बढेर ६६७ रुपैयाँको उचाईमा पुगिसकेको छ । 

बिक्रीभन्दा खरीदतर्फ बढी कित्ता पोष्ट हुनुले यो कम्पनीको सेयरमा एकाएक निकै ठूलो माग सिर्जना भएको देखाउँछ । तर, यो माग कति प्राकृतिक हो या होइन भन्ने विषय निक्र्यौल गरेर मात्र लगानीको निर्णय लिनु उचित हुनेछ । 

शिवम सिमेन्टले सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता रु. ३०० रुपैयाँमा आइपीओ निश्कासन गरी सोही सेयर दोश्रो बजारमा कारोबारमा आएको हो । कारोबार सुरुवाती दिनहरुमा नेप्सेबाट तोकिएको ओपनिङ रेञ्जको तुलनामा लगातार गिरावट व्यहोरेको यो कम्पनीको सेयर मूल्य ३०७ रुपैयाँमा आएपछि तीव्र गतिमा बढ्न सुरु भएको थियो । 

एक महिनाको अवधिमै यो कम्पनीको सेयर होल्ड गर्नेहरु मूल्यमा १०० भन्दा बढी प्रतिशतको बढोत्तरी भई मालामाल भएका थिए । 

बजारको निरन्तरको गिरावटको क्रममा यो कम्पनीको सेयरमा समेत केही समय मन्द गतिको गिरावट देखिए पनि सोमबारदेखि पुनः बढ्न थालेको हो।