काठमाण्डौ । दोश्रो बजारमा लगानीकर्ताको रोजाई बन्दै आएको शिवम शिवम सिमेन्टको खूद नाफामा पहिरो गएको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा खूद नाफामा २९.८७ प्रतिशतको पहिरो गएको देखिएको हो । 

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ४६ करोड १२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६५ करोड ७८ लाख खूद नाफा कमाएको थियो । 

कम्पनीको ग्रस प्रफिट समेत घटेको छ । समीक्षा अवधिमा यस्तो प्रफिट घटेर १ अर्ब ५६ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ८७  करोडको उचाईमा थियो । 

सिमेन्ट बिक्रीबाट कम्पनीले यो अवधिमा ४ अर्ब ६९ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष यस्तो कमाई ५ अर्ब २२ करोड थियो । 

अघिल्लोवर्ष ३ अर्ब ३५ करोड रहेको बिक्री खर्च यो वर्ष ३ अर्ब १३ करोड रहेको छ । सिमेन्ट बिक्रीबाट हुने आम्दानीतर्फ निकै ठूलो गिरावट व्यहोरेको कम्पनीले कस्ट अफ सेल्स भने त्यो अनुपातमा घटाउन नसकेको देखिएको छ । यसले समेत नाफा प्रभावित भएको हो । 

यो अवधिमा कम्पनीको प्रशासनिक खर्च, वितरण खर्च, फाइनान्सियल चार्जेज समेत बढेको देखिएको छ । 

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सेयर प्रिमियमको रुपमा ९४ करोड रुपैयाँ रहेको छ । 

कम्पनीको रिटेन अर्निङ पनि यो अवधिमा घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ४ करोड रहेको यस्तो अर्निङ घटेर यो वर्ष २ अर्ब ९८ करोडमा सीमित बन्न पुगेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २०.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.७० रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८३.६६ रुपैयाँ र तरलता अनुपात १.६६ प्रतिशत कायम भएको छ ।