काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा आइपीओ निश्कासनको अनुमति पाएको छ । 

धितोपत्र बोर्डले यो कम्पनीलाई सर्वसाधारणका लागि ४०० रुपैयाँ र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३०० रुपैयाँ प्रतिकित्ता मूल्य पर्ने गरी सेयर निश्कासन गर्ने अनुमति दिएको हो । 

सेयर निश्कासनको अनुमति पाउने यो कम्पनी नै नेपाली पूँजीबजारको पहिलो उत्पादनशील कम्पनी समेत बन्न सफल भएको छ । 

दैनिक ३०० टन उत्पादन क्षमता रहेको शिवम् सिमेन्ट्सले यो अनुमतिसँगै निकट भविष्यमै आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ प्रतिशतले हुन आउने ८,८०,०० कित्ता तथा सर्वसाधारणका लागि १० प्रतिशतले हुन आउने ४४,००,००० कित्ता गरी कुल ५२,८०,००० कित्ता साधारण शेयर निष्काशनका गर्न अनुमति दिएको हो ।

इक्रा नेपालले शिवम सिमेन्ट्सको आइपीओलाई ग्रेड थ्री प्लसको रेटिङ प्रदान गरेको थियो । यो कम्पनीको निश्कासन हुने सबै सेयरको मर्चेन्ट बैंकहरुले प्रत्याभूति(अण्डरराइट) समेत गरिसकेका धितोपत्र बोर्डले जनाएको छ । 

शिवम् सिमेन्टस् लिमीटेडको प्रारम्भिक सार्वजनिक निष्काशनबाट उत्पादनशील क्षेत्रका अन्य कम्पनीहरु समेत सार्वजनिक निष्काशनमार्फत पूँजी परिचालन गर्न उत्प्रेरित हुने र यसबाट बजारमा उत्पादनशील कम्पनीहरुको प्रभूत्व बढ्दै जाने समेत बोर्डले विश्वास व्यक्त गरेको छ ।

पूँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुको सहभागिता रहेमा मात्र पूँजी बजारले देशको आर्थिक स्थिति यथार्थ रुपमा प्रतिबिम्बित गर्नसक्ने बहस लामो समयदेखि चलिरहेकोछ । यस्ता क्षेत्र पूँजीबजारमा आए लगानीको विविधिकरणको अवसर समेत लगानीकर्ताले पाउने र अन्य क्षेत्रका कम्पनीहरु खास गरी वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजारमार्फत पूाजी परिचालन गर्न सकिने बोर्डको भनाई छ । 

नेपाल सरकारले बजेट मार्फत धितोपत्र बजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीहरुलाई करमा विशेष छुट दिने व्यवस्था गरेको र बोर्डले धितोपत्र दर्ता तथा निश्कासननियमावली २०७३ लागू गरी प्रिमियमसहितको  मूल्यमा सार्वजनिक निश्कासन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशत मात्र सार्वजनिक निश्कासन गरे पुग्ने लगायतका सुधारहरु गरिसकेको छ ।