काठमाण्डौ । सरकारले नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ । 
 

लामो रस्साकस्सी र हानाथापपछि करिब अढाई महिनादेखि सल्टिन नसकेको डेपुटी गभर्नर नियुक्तिको बिषय बुधबार निश्कर्षमा पुगेको हो । 
 

बुधबारको क्याबिनेटले डेपुटी गभर्नरमा शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंले बताए । 
 

डेपुटीमा नियुक्तमध्ये शिवाकोटी एमाले समर्थित हुन् भने श्रेष्ठ कांग्रेस समर्थित हुन् । शिवराज श्रेष्ठले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रभावमा पारेका स्रोतको भनाई छ । 
 

सरकारी निर्णय औपचारिक रुपमा सार्वजनिक नभए पनि अढाई महिनाको दौडपछि शिवाकोटी र श्रेष्ठले डेपुटी गभर्नरको कुर्सी कब्जा गरेका हुन् । 
 

गएको पुस ९ गते तत्कालीन डेपुटी गभर्नरद्वय महाप्रसाद अधिकारी र गोपाल काफ्लेको सेवा अवधि समाप्तिसँगै डेपुटी गभर्नर नियुक्तिको प्रयास सरकारबाट भए पनि यो बिषय टुंगोमा पुग्न सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीलाई दुवै डेपुटीमा एमाले समर्थित कार्यकारी निर्देशकलाई नियुक्त गर्नुपर्ने कडा निर्देशन दिएर सोही अनुसारको नाम ल्याउन भने पनि गभर्नर डा. चिरञ्जिवी नेपालले कानूनले दिएको अधिकार प्रयोगमा अडान नछाडेपछि र यो बीचमा एउटा पक्ष(एमाले)ले अर्को पक्ष(गभर्नर÷कांग्रेस)लाई गलाउने प्रयास गर्दा डेपुटी गभर्नर नियुक्तिको बिषय कचल्टिएको थियो । 
 

गभर्नर डा. नेपालले एमालेको तर्फबाट चिन्तामणि शिवाकोटी र कांग्रेसको तर्फबाट शिवनाथ पाण्डे, नारायण पौडेल र शिवराज श्रेष्ठको नाम सिफारिस गरेका थिए । यसअघि गभर्नरले शिवनाथ पाण्डेलाई डेपुटी बनाउने प्रयास गरे पनि त्रिलोचन पंगेनीलाई पाखा लगाउने रणनीतिका साथ ल्याइएको शिवराज श्रेष्ठको नाममा एकाएक सहमति जुटेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन् । राष्ट्रबैंक ऐनमा गभर्नरले डेपुटी गभर्नरको दुई पदका लागि ४ जनाको नाम अर्थमन्त्रीलाई सिफारिस गर्ने र अर्थमन्त्रीले ती चार नाममध्ये दुई नाम छनौट गरी क्याबिनेटमा अनुमोदनका लागि प्रस्तुत गर्नुपर्छ । यो पटकको डेपुटी गभर्नरको दौडमा नेपाल राष्ट्र बैंकका १६ कार्यकारी निर्देशकमध्ये १० जना प्रतिस्पर्धामा थिए । लामो समयसम्म डेपुटी नियुक्ति हुन नसक्दा प्रतिस्पर्धामा रहेकामध्ये धेरैले दौड छाडिसकेका थिए ।   
 

यसैबीच, डेपुटीमा नियुक्त शिवराज श्रेष्ठ मानव स्रोत व्यवस्थापन विभाग र चिन्तामणि शिवाकोटी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । 

 

डेपुटी गभर्नर : कस्को शैक्षिक योग्यता कस्तो ?
शिवराज श्रेष्ठ
-भारतबाट बैंक व्यवस्थापनमा स्नातक
-नेपालबाट अर्थशास्त्रमा स्नातकोत्तर
-बेलायतबाट बिजनेश फाइनान्समा एमबीए
-नेपालबाट पोर्टफोलियो प्लानिंग एण्ड म्यानेजमेन्टमा एमबीए

चिन्तामणि शिवाकोटी
-अमेरिकाबाट बित्तीय व्यवस्थापनमा एमबीए
-नेपालबाट विजनेश प्रशासनमा एमबीए
-नेपालबाटै कानूनमा एलएलबी