काठमाण्डौ । शुभम् पावर लिमीटेडले आयोजना प्रभावितले नकिनेको सेयरलाई समेत समावेश गरी सर्वसाधारण लगानीकर्ताका लागि कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको आइपीओ तत्काल निश्कासन गर्न नपाउने भएको छ । 

यो कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड फाइभको रेटिङ प्रदान गरेको छ ।

हालै अर्थमन्त्रीबाट गठित अध्ययन कार्यदलको सुझाव कार्यान्वयन गर्दै धितोपत्र बोर्डले मंगलबार नै ग्रेड फाइभको रेटिङ पाएका कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगाउने व्यवस्था   कार्यान्वयनमा ल्याएको छ । यसकारण समेत शुभम पावरले यही ग्रेडमा आइपीओ निश्कासन गर्न पाउने छैन ।

 

आइपीओका लागि यो कम्पनीले आफ्नो रेटिङमा सुधार ल्याउनुपर्नेछ । त्यसका निकै लामो समय लाग्ने देखिन्छ ।  

यो कम्पनीको अवस्था निकै कमजोर रहेकोले यसको सेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिन्छ । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ  निश्कासनको माग गर्दै भदौ २७ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले पहिलो चरणमा जेठ २० गतेदेखि आयोजना प्रभावितका लागि २ करोड रुपैयाँ बराबरको सेयर जारी गरेको थियो । तर, सो क्रममा १ लाख ८० हजार ५ सय ८० कित्ता सेयर बिक्री भएको थिएन । सो समेत समावेश गरी अब सर्वसाधारणका लागि कुल ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर जारीको तयारी गरेको थियो ।

यसअघि सर्वसाधारणका लागि ४ लाख कित्ता मात्र छुट्याइएको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल लिमीटेड रहेको छ ।

कम्पनीले संस्थापकको सेयर हिस्सा ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि आइपीओ निश्कासन गर्न खोजे पनि त्यो तत्काल संभव नहुने देखिन्छ ।

कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

कम्पनीले उत्पादन गरेको विद्युत् बर्षायाम प्रतिमेगावाट ३.९० रुपैयाँको दरमा र हिउदको लागि प्रतिमेगावाट ५.५२ रुपैयाँको दरमा किन्ने गरी विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । 

कम्पनीमा रिभर फल्स पावर लिमिटेडको ७०.२० प्रतिशत, न्याग्दी ग्रुप पावर नेपालको १२.३० प्रतिशत लगानी रहेको छ ।