काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आर्थिक गतिविधि बढेको क्षेत्रमै ट्राफिकजाम हुने दाबी गरेका छन् । 

मंगलबारदेखि सुरु भएको नाडा अटो शोको पछिल्लो संस्करणको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका गोल्छाले त्यस्तो दाबी गरेका हुन् । 

काठमाण्डौको ट्राफिक जामलाई हेरेर गाडीको संख्या बढी भयो भन्ने तर्क गलत रहेको दाबी गर्दै उनले भने–‘अटोमोवाइल प्रगतिको सूचक हो । ट्राफिक जाम हुँदा असजिलो पक्कै हुन्छ । तर ट्राफिकजाम त्यस्तो ठाउँमा हुन्छ, जहाँ आर्थिक गतिविधि बढेको हुन्छ । आर्थिक गतिविधि नभएको ठाउँमा जाम हुँदैन । सबै मानिसहरु कहीँ न कहीँ गइरहेका छन्, केही न केही गरिरहेका छन् भन्ने संकेत ट्राफिकजामले दिन्छ ।’

उनले अटोमोवाइल क्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी सरकारको राजश्वमा ४० प्रतिशत योगदान रहेको उल्लेख गर्दै अटोमोवाइल क्षेत्र नभए सरकार समेत चलायमान हुन गाह्रो हुने दाबी गरे । देशमा अटोमोवाइल क्षेत्र नै सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र रहेको समेत उनको दाबी छ । 

उनले अटोमोवाइल क्षेत्रलाई प्रगतिको सूचक भन्दै त्यसको व्याख्यामा भने–‘दुर्गम भन्ने ठाउँहरु सुगम भएका छन्, त्यहाँ बसेका बासिन्दाले देशको अर्थतन्त्रमा आफूलाई जोड्नसक्ने पनि अटोमोवाइलकै कारणले भएको हो । हामीले काठमाण्डौमा बसेर जुम्लाको ताजा स्याउ खान पाएका छौ, यसमा पनि यही क्षेत्रको योगदान छ ।’

उनले देशमा विकासको लहर अटोमोवाइलकै कारण आएको दाबी समेत गरे । भने–‘ अटोमोवाइल क्षेत्र प्रगति नभएसम्म अर्थतन्त्र पनि अगाडि बढ्न सक्दैन ।’ 

अर्को फरक प्रसंगमा उनले काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल जर्जर बनेको र यसले निजी क्षेत्रलाई गाह्रो भएको बताउँदै नयाँ प्रदर्शनीस्थल निर्माणमा सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए ।