काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ०.६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२४ अंकले बढेर अन्तिम दिन एक हजार ४२४.९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.४९ अंकले बढेर ३०१.३० अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु ६ करोड ७१ लाख ५० हजार बराबरको शेयर कारोबार भएको हो । 

त्यसैगरी, कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ९३ हजार कित्ता शेयर कारोबार भएको हो । कारोबार संख्याका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको ५९० वटा कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 

यस साता सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता साधारण शेयर, जेविल्स फाइनान्सको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद, ओरियन्ट होटलको १४ लाख २५ हजार १०६ कित्ता बोनस शेयर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद शेयर स्टकमा सूचीकृत भएको छ ।