-अर्जुन तिमल्सिना
एकादेशमा एउटा यस्ता व्यक्ति थिए, जो लोभी दाउरे बञ्चरेको नामले चिनिन्थे । उनी यतिसम्म लोभी थिए कि कहिल्यै आफ्नो बञ्चरो अरुलाई छुन त के हेर्न पनि दिंदैन थिए ।  किनकि उनको जीवन यापन नै त्यही एउटा बञ्चरोको भरमा हुन्थ्यो । उनको दैनिकी त्यही बञ्चरोको साहारामा चल्थ्यो । 

एकदिन एउटा पोखरीको छेउमा बसेर निक्कै मिहिनेतका साथ दाउरा काट्दै थिए र उनले मनमनै आफू निकै धनी बनेको कल्पना गर्दै थिए–सेयर लगानीकर्ताले जस्तै । यस्तैमा गहिरो पोखरीबाट शाश्वत भगवान प्रकट हुनुभयो र बाणी भयो–‘ए दाउरे कति दुःख गर्छस ?तेरो फलामको बञ्चरो मलाई दे, म त्यसलाई सुनको बञ्चरो बनाइदिन्छु ।’ स्वयम् भगवान नै प्रकट भएर भनेपछि होला क्यारे भनेर दाउरेले आफ्नो बञ्चरो तलाउमा फालिदियो । त्यसपछि भगवान बिलिन हुनु भयो–अहिलेका शेयर विश्लेषक जस्तै । 

विचरा लोभी दाउरे बञ्चरे कुर्नसम्म कुर्यो । सुनको बञ्चरो त परैको कुरा, आफ्नै हातको बञ्चरो पनि गुम्यो । अबेर साँझसम्म कुर्यो बन्चरो फिर्ता भएन र अन्त्यमा निराशा भएर  आफ्नो हातको बञ्चरो गुमाएको पीडाबोध गर्दै घर फर्कियो । 

यो कथाको सार हो–लोभले लाभ, लाभले बिलाप । भन्ने गरिन्छ सबैभन्दा खराब सपना भनेको छिटो धनी बन्ने सपना हो । यस्तै सपनालाई पछ्याउँदै  धेरैले अनुचित काम पनि गर्छन्, तर शेयरमा लगानी गर्नु, लगानीकर्ता हुनु भनेको बौद्धिक काम हो र संसारमा सम्मानित विषय पनि ।

तर, कहिलेकाँही धेरै लोभ र अरुको बुद्धिमा मात्र भर  पर्नुहुन्न ।  आफ्नो पनि अध्ययन, विचार र विश्लेषण हरेक ठाउँमा आवश्यक हुन्छ भन्ने नै हो । शेयर बजारमा यस्तो  पनि सुनिन्छ–यो त सुनको अन्डा दिने कुखुरो  हो, यस्तै कुरा गरेर महँगो मूल्यमा शेयर भिडाएर बिलिन  हुने समूह पनि हुन्छ । उदहारणका लागि २७०० मा चिलिमे जलबिद्युत कम्पनीको शेयरले सुनको अण्डा दिन्छ भन्दै भिडाइयो । अहिले ५०० रुपैयाँ प्रतिकित्तामा सीमित बन्न पुगेको छ । यो कम्पनी आफैंमा नराम्रो होइन, कुनैबेला कुलमान घिसिङ्गले नेतृत्व गरेको कम्पनी अझै पनि निकै राम्रो होला । सवाल त्यो मूल्य उचित थियो कि थिएन भन्ने हो । यस्तो त शेयर बजारमा कति हुन्छ कति ! यो त  एउटा भएको उदाहरण मात्र हो । 

शेयर बजारमा  यो  त सुनको अन्डा दिने कुखुरो भनेर महँगो मूल्यमा शेयर भिडाएर बिलिन  हुने समूह(तलाउमा प्रकट भएका शाश्वत भगवान) पनि हुन्छन् । सुनको बन्चरो  पाउने लोभमा आफ्नै बन्चरो गुमाउने भीड बजारमा ठूलै छ । तर, शेयर बजारमा गुमाउनु पनि कमाउनु हो । 

चीनकै ठूलो इकमर्स कम्पनी अलिबाबाका मालिक ज्याक मा भन्छन्–‘लर्न फ्रम मिस्टेक अथवा सबैभन्दा ठूलो आम्दानी भनेको तपाइको जीवनमा तपाईले गल्तीबाट सिकेको पाठ नै हो ।’

अब रह्यो बाँदर ब्यापारीको कथा । ब्यापारी भन्ने बित्तिकै धेरै मानिस तर्सिन्छन्, त्यसमाथि पनि बाँदर बेच्ने कस्तो ब्यापारी होला ? एकादेशमा एउटा चतुर बाँदर ब्यापारी थियो । जतिसुकै चतुर भए पनि यो व्यापार भन्ने कुरा यस्तो हो कि कहीँ न कहीँ मान्छे चुकिहाल्छ ।  उसले  २०० रुपियाँ दरमा भए जति  सबै बाँदर खरिद गरेको थियो । पछि उ आँफै रनभूल्लमा पर्दै थियो– यत्रो खरिद त गरियो, अब नाफा निकालेर बेच्ने कसरी ? अरु मान्छे  पनि अचम्म  पर्दै थिए । धेरै सोचेर उसले एउटा जुक्ति लगायो, सधैं यसरी बाँदर पाल्न त सकिन्न अब । एकदिन उसले सबै गाउँलेलाई बोलायो र भन्यो–‘म अझै थप बाँदर उच्च मूल्य ४०० दरमा किनिदिन्छु । त्यसपछि गाउँलेहरु बाँदर खोज्न वनतिर गए । सोझै दुईसय फाइदा हुने भएपछि किन चूप लागेर बस्थे ? बाँदर व्यापारीले त्यही मौकामा आफूसँग भए जति तिनै बाँदर दलाल मार्फत गाउँले गएकै जंगलतिर पठाइदियो । व्यापारीले बाँदर छोड्दै गयो, गाउँलेहरुले खरिद गर्दै गए । अन्तमा सबै बाँदर गाउँलेलाई भिडाएर बाँदर ब्यापारी गायब भयो । खरिद गर्ने गाउँलेहरु चकित भए । अहिले शेयर  बजारमा केही जलविद्युत कम्पनीको सेयर खरीद गर्ने तिनै बाँदर खरिद गर्ने खरिदकर्ता जस्तै हुन् । उदाहरणका लागि अपी पावर कम्पनीको सेयर  १ः२  को दरले राइट दिने घोषणा गरेर आठ सय माथि मूल्य पुर्याएर बेचियो र बजारबाट पैसा लगेर अर्को भित्तो खन्न थालियो । अहिले मूल्य झरेर १४० मा सीमित बन्न पुगेको छ । अब त्यो बाँदर ब्यापारी र झोलामा खोला हालेर बजारमा जलबिधुत कम्पनीको शेयर बेच्ने ठग व्यापारीहरुमा के फरक छ र ? जबसम्म जलविद्युत कम्पनीमा बलियो नियामक निकाय आउँदैन, तबसम्म यस्तै नै हुने हो र सर्वसाधारण आफैं सजग हुनुको विकल्प छैन । हुन त अहिले नियामक निकाय गठन गरिएको छ, तर यसको काम कार्यबाही गति गतिलो हुन्छ, त्यो अहिले भन्न सकिन्न । अर्कोतर्फ अहिलेको मूल्यमा कतिपय जलविद्युत कम्पनीको सेयर खरीद गर्दा घाटा भने छैन ।

(लेखक सेयर बजारका सक्रिय लगानीकर्ता हुन्।)