काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमूना गुरुंग फाइनान्सियल रिभ्यूू म्यागेजिनले जारी गरेको अष्टेलियाका धनाढ्यहरुको सूचिमा चार स्थान माथि उक्लिएका छन् । 

सन् २०१६ का लागि जारी सूचिमा १०५ औं स्थानमा रहेका घले दम्पत्ति सन् २०१७ को धनाढ्यको सूचिमा १०१ स्थानमा उक्लिन सफल भएका हुन् ।  बिहीबार प्रकाशित अष्टेलियाका धनाढ्यहरुको सूचि अनुसार सन् २०१६ सम्म घले दम्पत्तिको कुल सम्प्त्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष बढेर ६४ करोड ७० लाख डलरको उचाई चुुमेको छ । 

घले दम्पत्तिले अस्टेलियामा एमआइटी ग्रुप होल्डिङमार्फत् शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेट तथा होटलमा लगानी गरिरहेका छन् । मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा उनीहरुको स्वामित्व छ । त्यस्तै, उनीहरुको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी(एमआइटी)मा बिभिन्न देशका करिब ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

घलेको १२ अर्ब लगानीमा काठमाण्डौमा पनि शेराटन होटल निर्माण भइरहेको छ । उनीहरुले यूरोपका कतिपय देशमा समेत होटलमा लगानी थालेका बताइएको छ । म्यागेजिनकाअनुसार सन् १९९० को दशकमा विद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका घले दम्पत्तिले त्यहाँ कठिन संघर्ष गरी चमात्कारिक सफलता हात पारेका हुन् ।