काठमाण्डौ । घट्दो रेमिटान्स र उच्च आयातका कारण शोधानान्तर घाटा डरलाग्दो दरमा बढ्न थालेको छ । 

नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको पहिलो २ महिनाको आर्थिक तथा बित्तीय अवस्थाको समीक्षा सार्वजनिक गर्दै शोधानान्तर घाटा तीव्र रुपमा बढिरहेको डरलाग्दो विवरण सार्वजनिक गरेको हो । 

आर्थिक वर्षको पहिलो २ महिनामा शोधानान्तर ५ अर्ब ८७ करोडले घाटामा रहेको हो । अघिल्लो वर्षको पहिलो दुुई महिनामा यस्तो घाटा ३ अर्ब ५० करोडमा सीमित थियो । 

अघिल्लो वर्षको पहिलो दुई महिनामा रु. ११ अर्ब १२ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. १७ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले मात्र बढी रु. ११५ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ११.८ प्रतिशतले बढी रु. १५१ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ४८.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो ।