डडेल्धुरा। जिल्लामा पहिलो पटक बहुमूल्य जडीबुटी श्रीखण्डको व्यावसायिक खेती शुरु गरिएको छ।  जिल्लाका विभिन्न गाउँपालिकाका कृषकले श्रीखण्डको बिरुवा उत्पादन गरेर खेती गर्न थालेका छन्। नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा उत्पादन गर्न थालेको भागेश्वर गाँउपालिका–४ का खेमराज जोशीले बताए। उनले बगरकोटमा नर्सरी स्थापना गरेका छन्।  

'जीवन निर्वाह गर्न बिरुवा उत्पादन गर्न शुरु गरेको हुँ,' उनले भने। नर्सरीमा ५०० बिरुवा उमारेका जोशीले प्रतिबिरुवा ३०० का दरले बिक्री गर्न थालेका छन्। उनले भारतबाट बीउ ल्याई गत फागुनमा नर्सरी स्थापना गरेका हुन्। एउटा रुख तयार हुन १० देखि १५ वर्ष लाग्छ। प्रति रुखबाट तीन लाखसम्म आम्दानी गर्न सकिन्छ। बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक रुपमा सबल बन्न श्रीखण्ड लगाउन थालेको जोशीको भनाइ छ। 

श्रीखण्डको बिरुवा उत्पादनमा अजयमेरु गाउँपालिका भद्रपुरका उज्ज्वलदत्त पनेरु समेत सक्रिय छन्। धार्मिक पूजा र चन्दनका रुपमा मात्रै नभई  श्रीखण्ड औषधिका रुपमा समेत प्रयोग गर्ने गरिन्छ। यसको महत्व बुझेपछि जिल्लाका अन्य ठाउँका किसानले समेत श्रीखण्ड रोप्न थालेका छन्। 

'बाँझो जमिनमा बिरुवा लगाउन थालेकी छु,' अजयमेरुकी राजेश्वरी भट्टले भने। 

श्रीखण्डबाट हस्तकलाबा वस्तु, अगरबत्ती, पाउडर, तेल बनाउन प्रयोग गरिन्छ। पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीरका भाग सुन्निएको, छालाको चिलाइ, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएका, छारे, मुटुरोग निको हुने बताइन्छ।