काठमाण्डौ । बैंकर श्रीचन्द्र भट्ट ज्योति विकास बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त हुने भएका छन् । 

बैंक संचालक समितिको आज(बुधबार) बसेको बैठकले भट्टलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । 

भट्ट हाल आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनले त्यहाँ सीइओको रुपमा काम गर्न थालेको २ वर्ष पूरा भयो । दुई वर्षमै नयाँ अवसर आएपछि उनले आइएमई लाइफ छाडेर ज्योति विकास बैंक जान तयार भएका हुन् । 

तत्कालीन सीइओ मनोजकुमार ज्ञवालीले संचालक समितिको बारम्बारको अनावश्यक हस्तक्षेप र दवाबबाट दिक्क भएर केही साताअघि राजीनामा दिएपछि ज्योति विकास बैंकको सीइओ पद रिक्त थियो । सोही पदमा भट्ट नियुक्त हुने भएका हुन् । 

भट्टसँग २५ वर्षे लामो बैंकिङ अनुभव छ । महालक्ष्मी फाइनान्स(हालको महालक्ष्मी विकास बैंक)बाट करिअर सुरु गरेका भट्टले आइएमई लाइफभन्दा अगाडि एक रेमिटान्स कम्पनीमा आबद्ध रही काम गरेका थिए । 

त्यसअघि उनी मेगा बैंकको डेपुटी सीइओ थिए । मेगा बैंकमा आउनुअघि उनले नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरेका थिए । 

भट्टले मौखिक रुपमा सीइओको कुरा कन्फर्म भए पनि लिखित सम्झौता र नियुक्तिपत्र नै भने पाइनसकेको प्रष्ट्याए ।