पूँजीबजारमा पछिल्लो समय कोशेढुंगाहरु थपिएका थपियै छन् । पहिला हामीलाई सिडिएस चाहिएको थियो, आयो । हामी डिजिटल युगमा छिरिसक्यौं । हिजोको दिनमा कागज बोकेर कारोबार गर्नुपर्ने युगबाट हामी अगाडि बढिसक्यौ । छिटफुट र सामान्य कुरा बाहेक सिडिएस आउनेबित्तिकै हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौ ।

टेक्नोलोजीले इफिसिएन्सी दिन्छ, एक किसिमको इफिसिएन्सी हामीले पाइसक्यौ । निकट भविष्यमै संसारको जुनसुकै कुनामा बसेर समेत मोवाइलबाटै सेयर कारोबार गर्न सक्षम हुँदैछौ । बजारका लागि यो धेरै ठूलो फड्को हो । 

पूँजीबजारप्रति सबैको आशा र अपेक्षा भनेको सधैं माथि जाओस् भन्ने नै हो । तल गएर कसैलाई घाटा छैन, कसैले बेचिसकेर सस्तोमा किन्छु भनेको बाहेकको अवस्थामा अरु कसैलाई पनि पूँजीबजार घट्दा फाइदा हुँदैन । त्यसकारण बजार माथि जान्छ, संसारभरकै बजार माथि गएको छ, तर त्यसले एउटा निश्चित समय लिन्छ ।

हाम्रो अपेक्षा चाहि आज सेयर किनेपछि भोलि नै बढोस् भन्ने हुन्छ, अझ सके आजैको क्लोजिङ प्राइसमा एकै रुपैयाँ भए पनि बढेको देख्न पाइयोस् भन्ने हुन्छ, जुन गलत अपेक्षा हो । 

यसपालिको अर्थशास्त्रतर्फ नोवेल पुरस्कार रिचर्ड थेलरले बिहेबियरल इकोनोमिक्समा पाउनुभएको छ । उहाँले नच भन्ने किताब लेख्नुभएको छ, त्यो किताब पढ्नुहोला, म तपाईहरुलाई सजेष्ट गर्छु । बिहेबियरले बजार वा लगानीलाई कसरी प्रभाव पार्छ भन्ने बिषय निकै रोचक ढंगले त्यहाँ उठाइएको छ । किताबमा पूँजीबजारमा छिर्ने, सेयर किन्ने र लगानी गर्ने कुरा पनि बिहेबियरल फाइनान्सले कसरी फरक पार्छ भन्ने कुरा सिम्पल ढंगले लेखिएको छ र रमाइलो किताब छ ।

फेरि हाम्रो पूँजीबजारकै कुरा गरौं । बजारको विकास अहिले जसरी भइरहेको छ, हुने नै यसरी हो । टेक्नोलोजीमा पहुँच हुने, हात हातको मोवाइलबाट कारोबार गर्न सक्नु सुखद पक्ष हुन् । समयअवधिको कुरामा माइक्रो सेकेण्ड र नानो सेकेण्डमा नजाऔं, जसले जित्यो जित्यो । भारतमै पनि धेरै चलेका ब्रोकरेज हाउस स्टक एक्सचेञ्जको भवनको नजिकै बसेर काम गर्छन्, कारण भनेको उनीहरुको डेटा जाँदा थोरै समयमै जाओस् भन्ने नै हो । त्यो नानो सेकेण्डको पनि फाइदा लिन पाइयोस्, अर्काको भन्दा चाँडै अर्डर लिन पाइयोस् भन्ने अवधारणा हो । हामीले पनि जसरी हात हातबाट कारोबार गर्न पाउनेछौ, यसले कारोबारमा तीव्रता मात्र ल्याउने छैन, समग्र बजारको विकास गर्नेछ ।

अब केही कुरा बजारको भविष्यको विषयमा गरौं । धेरैको प्रश्न हुन्छ बजार बढ्छ कि बढ्दैन ? मलाई लाग्छ बढ्छ, पक्कै बढ्छ, यसमा शंकै गर्नुपर्दैन । तर कहिले भन्ने कुरा महत्वपूर्ण हो । बढ्छ भन्ने कुरा पनि कहाँबाट लगानी गर्न सुरु गरेको भन्ने कुरामा गएर अडिन्छ । २९० मा बजार छिरेका साथीहरुलाई बजार ६ गुणा बढेर २ गुणा घटेर फेरि १२०० को पोजिसनमा आउँदा समेत कम्फर्ट अवस्थामै हुनुहुन्छ । होइन र ? १००० हजारमा छिरेको मानिसका लागि पनि १२०० को बजार त अझै पनि बढेकै बजार हो नि । तर, ठ्याक्कै उल्टो कुरा चाहि के हो भने जो मान्छे १८०० मा बजारमा प्रवेश गर्यो, उसका लागि चाहि बजार कहिल्यै बढ्दै बढेन । यसको अर्थ बजार कहाँनिर छ भन्ने कुरा बजार आफैंले निर्धारण गर्ने रहेछ, हामीले यसमा केही गर्न सक्दैनौ भन्ने देखाउँछ ।

तपाईहरु इमानदारपूर्वक भन्नुहोस्, तपाई कम्पनीमा लगानी गर्नुहुन्छ कि बजारमा ? अनि केहीमा यस्तो प्रवृति छ, सेयर बजारमा छिर्ने, सेयर किन्ने तर सेयर चाहि बेच्दै नबेच्ने । यस्तो प्रवृतिले सेयरबाट कहिल्यै कमाइन्न । चलायमान बजारमा आफू नछिरी कमाई चाहि हुँदैन । बजारमा छिरेपछि निस्किन जान्नुपर्छ, सेयर किनेपछि बेच्न जान्नुपर्छ । 

आफूले लालचको सीमा तोक्नुपर्छ, कतिसम्म मात्र लालच राख्ने भन्ने कुरा हरेक लगानीकर्ताले निर्धारण गर्नुपर्छ । बेच्ने कहाँ ? मेरो लालचलाई छाड्ने कहाँ हो ? भन्ने कुरा राख्नसक्यो भने साधारणतया बजारले पीडा दिंदैन । 

हामीले पनि २ वटा म्युचुअल फण्ड चलाउँछौ, हामी चाहि कम्पनीमा विश्वास गरेर काम गर्छौ । र, हामी कुर्छौ । हामी समय नै तोक्छौ कि कुनै कम्पनीलाई कहिलेसम्म हेर्ने ? कहिलेकाही बजारमा अनावश्यक उतारचढाव देखियो भने त्यसबेला बजारको फाइदा किन नलिने भन्ने कुरा हो, तर हामी अन्य अवस्थामा आफ्नो टाइमलाइन नै कुर्छौ । रणनीतिक योजनाका साथ बजारमा लगानी गर्ने हो भने बजारले धेरै दुःख दिंदैन । 

तर, दुःखद कुरा भन्नुपर्छ, संसारभरकै लगानीकर्ता हिजोआज बजारमा लगानी गर्न थालेका छौ । कम्पनीमा होइन । बजार चाहि सेन्टिमेन्टमा चल्छ । सेन्टिमेन्ट भन्ने कुरा भावनामा जोडिन्छ, भावना भन्ने कुरा प्रेममा गएर जोडिन्छ । इन लभ वी अलवेज फल, नेभर राइज । जहाँ माया हुन्छ, त्यहाँ आँखा चिम्लिन थालिन्छ । त्यसकारण जब हामी सेन्टिमेन्टका आधारमा जब–जब बजारमा लगानी गर्न थाल्छौ नि, त्यसपछि हामी अन्धो हुन थाल्छौ । बजारलाई मात्र हेरेर नराम्रो बित्तीय अवस्था भएको कम्पनीमा समेत लगानी बढाउँदै जान्छौ, एकले अर्काको सिको गर्दै गएपछि यस्तै प्रवृतिले बजार प्रभावित हुन्छ । हावाभरिएको बेलुनजस्तै यो प्रवृतिले धरातल छाड्दै जान्छ । यसकारण टेक्निकल इज अ भेरी स्ट्रङ टूल टू अण्डरस्ट्याण्ड द मार्केट(प्राविधिक विश्लेषण बजारलाई बुझ्ने निकै बलियो माध्यम हो ।) पूर्ण सेन्टिमेन्टमा चल्यो भने डूबिन्छ ।

बजार बढेको बेलामा संसारभर नाप्ने कुरा भनेको मार्केट क्याप र जिडीपीको रेसियो के छ त भन्ने हो । तर, हामी मार्केट क्यापको क्याल्कुलेसन कहाँबाट आयो भन्ने कुरा बिर्सिसक्छौ । किनभने आज पनि इण्डियामा हेर्यौं भने अधिकांश स्टकहरु १० देखि १५ को पीइमा पुग्ने बित्तिकै अपरब्याण्ड भन्छ । एकदम हाइसेलिङ प्रोस्पेक्ट भएको ग्रोथ स्टकलाई मात्र २०–२५ को पीईमा ओके भन्छ । जस्तो अस्ती फ्लिपकार्टको डिल भयो । वालमार्टले १६ अर्ब डलरमा किन्यो, झण्डै हाम्रो जिडीपीको टू थर्ड बराबरको एउटा कम्पनीको भ्यालुएसन भयो । किनबेच भयो । 

अब मार्केट क्याप र जिडीपीको कुरा गरौं । मार्केट क्याप के कारणले बढ्यो त ? नयाँ सेयर थपिएर, कम्पनीको राम्रो परफरमेन्स गरेका कारणले हो कि १० को पीई २०, २० को पीइ ३० र ३० को पीई ४० भएर अगाडि बढेको हो ? यसरी मार्केट क्याप चाहि बलुन हुँदै गयो, जीडीपी त त्यो अनुसार बढेको हुँदैन । यसले हेर्दा अझै पनि ठाउँ चाहि भन्न देखिन्छ, तर सायद बजारले ठाउँ चाहि छाडिसकेको हुन्छ । 

बजार जहिले पनि रथलेस हुन्छ । कुनै न कुनै बेला यसले पीडा त दिन्छ दिन्छ । झण्डै साढे ७ अर्ब जनसंख्या भएको यो संसारमा यस्ता २ वा ३ जना मान्छे मात्र छन्, जसले मात्र बजारमाथि पनि बिड गर्न सक्छन् । अरुले त नसक्ने नै रहेछन् । किनभने बजार जहिले पनि रथलेस नै हुन्छ । 

लगानीकर्तालाई बिगार्ने अर्को कुरा हो लालच । शास्त्रले समेत लालचलाई पाप भनेको छ । स्पेकुलेसन भन्छौ हामी, त्यो भनेको सेन्टिमेन्टमा चल्ने हुन्छ, सेन्टिमेन्ट केका लागि भन्दा लालचका लागि त हो नि । सबैजना कमाएरै निस्किन त बजार छिरेको हो नि । कमाउने एलीमेन्टमा लगानीकर्ताले मेरो लालच कति हुनुपर्छ भन्ने कुरा बिर्सिन्छ । हामीमध्ये धेरैले बढी नै लोभ गर्दा बढेको सेयर समेत नबेचेर फेरि घाटा खाएर बिक्री पनि गरेका हौला नि । आफूले लालचको सीमा तोक्नुपर्छ, कतिसम्म मात्र लालच राख्ने भन्ने कुरा हरेक लगानीकर्ताले निर्धारण गर्नुपर्छ । बेच्ने कहाँ ? मेरो लालचलाई छाड्ने कहाँ हो ? भन्ने कुरा राख्नसक्यो भने साधारणतया बजारले पीडा दिंदैन । 

मैले एउटा ठाउँमा गएर अरुको कमाई पनि खोस्न खोजिँन र उसले पनि कमायो भने बजार चलायमान हुन्छ । हामी सबैले पिक प्राइसमै बेच्ने भनेर सोच्ने हो भने त्यसबेला किनिदिने चाहि कसले ? 

अब हामी टेक्निकल एडभान्टेजमा गइरहेका छौ । तपाईहरु हेर्दै जानुहोस्, हामी जति टेक्निकल एडभान्टेजमा जान्छौ, यसले सबैको सोच्ने तरिकालाई झन् झन् समान बनाइदिंदै जान्छ । हामीले गर्ने विश्लेषणहरु अब झन् झन् मिल्दै जान्छ । कहिलेकाही टेक्नोलोजीका कारण बजारमा प्यानिक अवस्था पनि आउनसक्छ । टेक्नोलोजीले सक्षम बनाउँछ, तर प्रविधिमा यति धेरै भिज्छौ कि हाम्रो सोच्ने शैली समेत एउटै ठाउँमा गएर ठोक्किन थाल्छ । अनि यसलाई जित्ने केले हो त ? यसलाई जित्ने भनेको तपाईले लगानी गरेको कम्पनी नै हो । तपाईले लगानी गरेको कम्पनीको सेयर ग्रोथ स्टक हो भने त्यसले पक्कै पनि रिटर्न दिन्छ, दिन्छ । 

हामी भन्दाखेरि चाहि कम्पनीको कुरा गर्छौ, तर बजारकै सेन्टिमेन्टको कुरामा लाग्छौ । त्यहाँ गएपछि बिहेबियरको हिसाबले मास मार्केटको फिलोसोफीमा दौडिन्छौ । अहिले पनि त कतिपय कम्पनीहरुको अवस्था कहाँ पुग्छ थाहा छैन, तर त्यस्तामा बढ्न थाल्यो भने म पो छुट्छु कि भनेर किन्नेको ताँती हुन्छ । 

अर्को कुरा, नेप्से आफैंलाई हामी एउटा रियालिस्टिक मान्छौ । झण्डै २ सय वटा कम्पनीको समायोजन भएर आएको फिगर हो नि । सर्टेन इण्डेक्सलाई माइनस गरिदिने हो भने आजको दिनमा नेप्से त ७०० मा आइपुगेको छ । त्यही नेप्सेमा पनि कति सेक्टर अण्डरप्राइस होला, कति ओभर प्राइस होला, तर हामीलाई चाहि के अझै छैन भने, भविष्य भनेको कति लामो ? त्यो कुरा नै राखेनौ । हामीलाई बजारबाटै कमाउनुछ । बजारबाटै कमाउनका लागि जुन स्टक सबैभन्दा आक्रामक छ, त्यसैमा लाग्नुपर्यो, अनि जुन अग्रेसिभ छ, त्यो ठोक्किन पनि सक्छ, अनि ठोक्किएपछि चाहि अरुलाई गाली गर्न थाल्छौ । म्युचुअल फण्डले किनेन, यसले बेच्यो, ठूला लगानीकर्ता बाहिर निस्किए, सरकारले हेरेन भन्दै कराउँछौ । 

संवेदनशील भएर लगानी गर्नेले त्यस्तै बजारबाट पनि कमाएर निस्किन्छ नि । म्युचुअल फण्डहरुकै प्रदर्शन हेरौं न । हामी २ वटा म्युचुअल फण्ड चलाउँछौ, हाम्रो प्रदर्शन हेर्नुहुन्छ भने बेटर नै छ । बजार भन्दा हाम्रो रिटर्न हेर्नुभयो भने हामी निकै बेटर छौ । किन त भन्दा, हाम्रो हरेक कुरामा रणनीति हुन्छ, रणनीति अनुसार नै चल्छ । जस्तो १३४० मा बेच्ने भनेपछि त्यही विन्दूबाट बेच्न सुरु गर्छौ । बजार १४०० वा १५०० पुग्छ कि भनेर कुरिन्न । बरु, बजार अझै माथि जाने अवस्था देखियो भने १३६० मा फेरि बजार छिरिन्छ होला । तर, आफ्नो डिसिजन चाहि लिन्छ । त्यो भनेको आफ्नो लालचलाई नियन्त्रण गर्ने हो । आफूलाई कति कमाउँछु भनेर योजना बनाएको बेञ्चमार्कमा चाहि बजारबाट बाहिरिहाल्ने । हामी यी कुरा बिर्सिन्छौ । 
अब भविष्यको कुरा गरौं । हालै नेपालको इतिहासकै सबैभन्दा ठूलो पार्टी बन्यो । संसदमा आजको सरकारसँग निकै लोभलाग्दो बहुमत छ । यसको अर्थ हामी अहिले अपोजिसनलेस(प्रमुख प्रतिपक्षीविहीन) बलियो सरकारमा छौ । हामी जे पनि गर्न सक्छौ, हामी केही पनि गर्न सक्दैनौ भन्ने अवस्था पनि रहला । यो सरकारले पनि गरेन भने अब कसले गर्छ त ? नेपालको सन्दर्भमा यति बलियो सरकार सायद बिरलै थियो होला । अब कलकारखाना खुल्न थाले, विजिनेश व्यापार बढ्न थाले भने त घुमेर पूँजीबजारमै आउने हो नि । त्यो पैसा त पूँजीबजारमै आउने हो नि । यसको अर्थ पूँजीबजारको रिसोर्स क्रिएट भएपछि भविष्य त्यसै पनि उज्वल छ । 

नेप्से कहाँ पुग्छ, त्यो नेप्सेलाई नै छाडिदिऊ । हामीले गरेको डिसिजन ठीक भयो कि भएन भन्नेतर्फ जानुपर्छ । हामीले बनाएको नियम कानून पर्याप्त छन् कि छैनन् त ? विश्लेषण हुन आवश्यक छ । टेक्नोलोजीमा हामी निकै एड्भान्स भइसक्यौ, तर कानूनी पूर्वाधारमा चाहि हामी एकदमै कमजोर छौ । हामीसँग सामथ्र्य छ, तर हामी त्यो गर्न सकिरहेका छैनौ । हामी बजारका लागि धेरै गर्नसक्छौ, तर कानून छैन । अब ऐन कानून संसोधन गरेर होइन, अब कतिपय ठाउँमा नयाँ ऐन कानून नै बनाउनुपर्छ । समय सापेक्ष कानून पनि बन्नुपर्छ । 

एकातिर कानून कमजोर छ भने भएकै कानून कार्यान्वयनमा समेत त्रुटि छ । नियम कानूनमा भएको प्रष्ट कुरा कार्यान्वयन गर्न समेत हप्तौ लड्नुपर्ने बिडम्बना छ । कानून मात्र बनाएर भएन, त्यसलाई सहज कार्यान्वयन गर्न दिनुपर्छ ।

र, फाइनान्सियल इण्डष्ट्री गुड गभरनेन्स र डिस्क्लोजरबाट चल्छ । तपाईहरुले पूँजीबजारको भविष्य साच्चिकै खोजेको हो भने कर्पोरेट गभरनेन्सका लागि लडाई लड्नुपर्छ । डिस्क्लोजरका लागि फाइट गर्नुहोस् । हामी सबैले एकैसमयमा बराबरी सूचना पाउनुपर्छ । त्यो सूचना दिने व्यक्तिले सूचना चुहाउँछ भने त्यो व्यक्ति त्यो पदमा बस्न हकदार छैन । 

साच्चिकै दिगो पूँजीबजार चाहेको हो, पूँजीबजारको विकास चाहेको हो, उज्वल बजार चाहेको हो र हामी सबैले कमाउन चाहेको हो भने हामीले लड्नुपर्ने कुरा भनेको गभरनेन्सका लागि बलियो कानून बन्नुपर्छ । र, अर्को कुरा डिस्क्लोजर पनि हो । तपाईहरुलाई म प्रश्न गर्न चाहन्छु: तपाईहरु हकप्रद पनि भर्नुहुन्छ, आइपीओमा पनि आवेदन दिनुहुन्छ । त्यो भन्दा अगाडि प्रोस्पेक्टस कत्तिको पढ्नुहुन्छ ? १ लाख फारम छाप्दा कोही लिन आउँदैन । मुश्किलले ४०० पनि जाँदैन । वेबसाइटमा हुन्छ, न्यूजमा हुन्छ । तर, लगानीकर्ता राम्ररी पढ्दैनन् । हामी साच्चिकै प्रोस्पेक्टस पढ्ने, त्यहाँ लेखेका कुराहरुमा प्रश्न गर्ने जस्ता काम गरेका छौ त  ? छँदै छैनौ । हालै एउटा हाइड्रोपावरको प्रोस्पेक्ट्समा क्यास्केड प्रोजेक्ट बनाउने भन्ने लेखिएको छ । प्रोस्पेक्ट्सको इन्भेष्टमेन्ट भन्ने हेडमा कुनै फिगर नै छैन । आइपीओ रेज गरेको प्रोजेक्ट बनाउनलाई, तर अमाउण्ट चाहि डिस्क्लोजरमै छैन । त्यो आइपीओ २० गुणाजति ओभरसब्सक्राइब्ड भयो होला । 

यसकारण पनि बजारको विकासका लागि गुड गभरनेन्स र डिस्क्लोजर महत्वपूर्ण कुराहरु हुन् । टेक्निकल इन्फ्रास्टक्चर बन्यो, तर यसले त्यो बेला मात्र काम गर्छ, जब बलियो कानूनी पूर्वाधार बन्छ । कानूनी पूर्वाधारले गुड गभरनेन्स र डिस्क्लोजरलाई कभर गर्छ । हामी माइग्रेसनमा छौ, संक्रमणकालमा छौ । त्यसकारण कानूनी पूर्वाधार बलियो बनाउनुपर्छ । 

पूँजीबजारको भविष्य उज्वल छ । पूँजीबजार पूँजी उठाउने ठाउँ होइन, पूँजीको भ्यालू दिने साधन मात्रै हो । पूँजी उठ्ने प्राइमरीबाट हो, सेकेण्डरी मार्केटमा पूँजीको भ्यालुएसन भएर हामीले कारोबार गर्ने मात्रै हो । त्यसकारण पूँजीबजारले हामीलाई हामीले हालेको लगानीको भ्यालूएसन दिन्छ, यसले पूँजी सिर्जना गर्ने होइन । 

र, टेक्नोलोजी साधक मात्र हो, यसलाई प्रयोग गर्ने र योसँगै जोडिएर ह्यूमान बिहेबियरलाई सही ठाउँमा प्रयोग गर्ने हो भने पूँजीबजारले सबैलाई उभो लगाउँछ । पूँजीबजारमा पनि बिहेबियरलाई मात्र सोचेर, बजारलाई बलुन गरेर, खालि सेन्टिमेन्टका आधारमा मात्र चलेर अगाडि बढियो भने कुनै न कुनै बेला पूँजीबजारले हामी सबैलाई एकपटक खान्छ । त्यसैले मेरो विनम्र अनुरोध र हाम्रो समृद्धिका लागि बजारमा लगानी गर्नुहोस्, तर कम्पनी हेरेर मात्र । 

(एनएमबी क्यापिटलका सीइओ घिमिरेले शनिवार इन्भेष्टर्स फोरमले राजधानीमा आयोजना गरेको पूँजीबजार सचेतना कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)