-भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजारले कसैलाई रोडपति त कसैलाई करोडपति बनाइदिएको छ । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड बनेको सेयर बजारले काभ्रेका एक युवालाई कसरी करोडपति बनाइदियो, आज तिनै पात्रको रोचक कथालाई हामीले खोतल्ने प्रयास गरेका छौ ।

सेयर बजारवृत्तमा परिचित नाम हो, दिनेश हुमागाईँ । हुमागाईँ काभ्रे पनौती घर भई हाल कोटेश्वर सहयोगीनगरका बासिन्दा हुन् । उनी विगत २२ वर्षदेखि नेपालको पूँजीबजारमा सक्रिय लगानीकर्ता हुन् । बुटवल पावर कम्पनी लिमिटेडमा पब्लिक तर्फबाट सञ्चालक समेत रहेका हुमागाईँ ‘सहयोग नेपाल’ नामक सामाजिक संस्थाका संस्थापक अध्यक्ष पनि हुन् । 

उनले हेल्थ असिस्टेन्टको पढाइसँगै रुरल डेभलपमेन्ट र राजनीति शास्त्र गरी दुई विषयमा केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

ब्रोकर नम्बर ४ का नवराज पोखरेलसँगको भेटघाटले सेयर बजारमा हुमागाईँको साइनो जोडिएको रहेछ । वीर हस्पिलमा सामान्य जागिरे हुमागाईँ ब्लुक्रस नर्सिङ होममा समेत जागिर गर्थे । जागिर गर्ने सिलसिलामै प्राथमिक बजारमा आएका आइपीओहरु उनले भर्न थाले।

२०५४ सालताका तत्कालीन नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक(हाल एनआइसी एशिया बैंक)को ४० कित्ता सेयर आवेदन माग गरेर बजारमा पाइला चालेका हुमागाईँले २० कित्ता हाता पारे । तलबका केही अंश, साथीभाईसँग सापट र गाउँमा रहेको पाखो  जग्गा समेत बेचेर लगानी ओइराउँदै गएका हुमागाईँ थुप्रै कम्पनीका आइपीओ भेला पार्दै गए । २०५९ सालताका आफूसँग भएको आइपीओहरु बेचेर ६ लाखमा हुमागाईँले एउटा अल्ट्रासाउण्ड मेसिन खरिद गरे । पछि २०६४ सालमा सो मेशिन बिक्री गरी औषधी पसलमा समेत लगानी बिस्तार गरे । ६ लाख रुपैयाँ हाराहारी पैसा बोकेर  दोस्रो बजारमा चाहिँ उनको प्रवेश २०६४ सालमा भयो । 

सानिमा बैंकको ५ सय कित्ता सेयर ८ सय प्रतिकित्ता र  कुमारी बैंकको ३ सय कित्ता सेयर प्रतिकित्ता ८ सय हाराहारीमा किनेर दोस्रो बजारमा हुमागाईँको यात्रा सुरु भयो । ६ लाख रुपैयाँको सुरुको पोर्टफोलियो २०६६ सालमा बढेर २० लाख पनि पुग्यो तर समय क्रमसँगै उनको पोर्टफोलियो २०६९ सालमा घटेर ४ लाखमा सीमित बन्यो । उनको मनोबल घटेन । उनलाई सेयरबजारप्रति नशा चढ्दै गयो । श्रीमतीको गहनासमेत धितो राखेर उनले दोस्रो बजारमा लगानी थप्दै गए । दोस्रो संविधानसभा चुनाव हुनुअघि लघुवित्त र विकास बैंकतर्फ हुमागाईँले लगानी विविधिकरण गरे । दोस्रो बजारमा अधिकांश सेयरमा मुनाफा आर्जन गर्दै गए। 

धेरै लगानीकर्ताहरु किन्ने होडमा भएका बेला हुमागाईँ भने बेच्ने र अधिकांश लगानीकर्ताहरुले डराएर बेच्ने बेला उनले भने किन्ने अन्तर्राष्ट्रिय सिद्धान्तलाई नै हालसम्म पनि पछ्याउँदै आइरहेको बताए । कम्पनीबारे आधिकारिक व्यक्तिसँग बुझेर, सञ्चालकबारे जानकारी लिएर, कम्पनीको सम्भावनालाई केलाउँदै, कम्पनीका भावी योजनाबारे बुझेर मात्र लगानी गर्न उनको सुझाव छ । १० करोडसम्म पोर्टफोलियो बनाएका हुमागाईँले आधा भने ऋण लिए । श्रीमतीको गहना धितोमा समेत राखेर लगानी ओइराएका उनले पोर्टफोलियो विविधिकरणमा सजग हुनुपर्ने विचार राखे । 

नाकाबन्दीका बेला ओरिएन्टल होटल ४ सय प्रतिकित्तादेखि ८ सय प्रतिकित्तासम्म खरिद गरेका उनले पछि ९ सय प्रतिकित्तामा बेचे । उनका लगानीकर्ता साथीहरुले त्यतिबेला सो होटल किन्नु गलत निर्णय हो भनिरहँदा उनले गहन विश्लेषण गरी लगानी ओइराए । 

यस्तै, भूकम्पका बेला शिखर इन्स्योरेन्सको ८ सय प्रतिकित्तामा खरिद गरेका हुमागाईँले सोही सेयर प्रतिकित्ता ३३ सयमा बेचेर मनग्यै मुनाफा कुम्ल्याएको दाबी समेत गरे । यसरी हुमागाईँले अधिक जोखिम लिदै स्वनिर्णयमै लगानी गरेर अधिकांश कम्पनीका सेयरमा नाफा आर्जन नै गरे । यसले के पनि प्रमाणित गर्छ भने बजारको ट्रयाकभन्दा बाहिर रहेर पनि कहिलेकाहीँ सेयरमा लगानी गरे मुनाफाको ग्यारेन्टी हुनेरहेछ ।  हालको वियरिस ट्रेण्डमा समेत उनको पोर्टफोलियोमा २० देखि २५ प्रतिशतसम्मको मात्र गिरावट रहेको उनको भनाई छ । 

सेयर बजारले आज धेरै कुरा दिएकोमा उनी मख्ख र खुशी समेत छन् । सेयरकै कमाइले स्वयम्भूमा १ करोड ५० लाखमा घर किनेर २ करोड २५ लाखमा बेचे । गाडी किन्नेदेखि विभिन्न ठाउँमा घडेरी जोड्ने, २ छोराहरुको शिक्षादीक्षा, आफूलाई २ डिग्री उपाधि समेत सेयरकै कमाइले  दिलाएकोमा खुशी रहेका हुमागाईँ बुटवल पावर कम्पनीमा सञ्चालक समेत हुन पाउँदा झन् दगं देखिन्छन् ।

‘सेयर बजारलाई सम्भावना प्रचूर भएको एक क्षेत्र’ भनी बुझेका हुमागाईँ बजारको ट्रेण्ड र सम्भावना देखेपछि अविलम्ब सबै पैसा खन्याउँछन् । ‘सही समयमा खरिदबिक्री गर्नुपर्दछ’ हुमागाईँले बिजशालासँग भने–‘शीघ्र निर्णय अति जरुरी छ ।’

सेयर बजारलाई मात्र पूर्णकालीन पेशा नबनाईकन साइडमा जागिर र बिजनेससमेत गर्न उनले जोड दिए । सेयर बजार सुनको अण्डा पार्ने क्षेत्र भनी नबुझ्न आग्रह गर्दै उनले भने–‘अरुले घोडा चढ्यो भनेर आफूले धूरी चढिए लडिन्छ ।’

धैर्यता र नमात्तिने गुणले आजको स्थानसम्मको सफलता हासिल गरेको बताउने हुमागाईँले विद्यालयका एक गुरुलाई सम्झन पुगे । गुरु उपेन्द्र प्रेमीले जीवनमा ३ काम नगर्न अर्ती दिएको सम्झदै हुमागाईँले भने–‘आत्तिने ,मात्तिने र पात्तिने काम छाडे सफल भइन्छ । र यो सबै क्षेत्रमा लागू पनि हुन्छ ।’

सेयरबाटै करोडपति हुमागाईँको सफलताको राजबारे बिजशालाको  जिज्ञासामा लगनशीलता, समयको साथ, धैर्यता, साथीभाइको सद्भाव र माया नै भएको बताउँछन् । आफूलाई भाग्यमानी ठानेका हुमागाईँले भगवानको पनि हात रहेको सुनाए ।

पूँजीबजार जुन रफ्तारमा विकास र विस्तार हुनुपर्ने हो, त्यो नभइरहेको जिकिर गर्दै हुमागाईँले प्रम ओलीले पूँजीबजारको विकास नै देशको विकास भन्ने टिप्पणी उखानटुक्कामा परिणत भएको जिकिर गरे । 

नियामक सेबोन र नेप्से अनि सरकार पूँजीबजार विकास र विस्तारमा चुकेको उनको आरोप छ । नेप्सेको अनलाइन प्रणाली चलाउन अहिले पनि समस्या रहेको दाबी गर्दै उनले भने–‘विदेशी भरपर्दो सफ्टवेयर ल्याउन सकेको भए समग्र पूँजीबजारको विश्वसनीयतामा वृद्धि भई लगानीकर्ताहरुको समेत मनोबल बढ्ने थियो ।’

नियामक सेबोन र नेप्सेमा राजनीतिक भागबण्डाका आधारमा उच्च नेतृत्व राख्दासमेत पूँजीबजार धराशयी र अन्यौलग्रस्त भएको उनले टिप्पणी गरे ।
अर्थतन्त्र नै दोधारे भएको र लगानीकर्ता संघसंगठनका नेताहरु अडानमा चुक्ने र मिडियाबाजीमा रम्दा समेत पूँजीबजारका लगानीकर्ताहरुले थप मर्माहत र प्रताडना भोग्नु परिरहेको हुमागाईको दाबी छ ।