काठमाण्डौ । भदौ अन्तिम सातासम्म दोश्रो बजार प्रवेश गरिसक्ने योजना रहेको भनिएको नागरिक स्टक डिलर कम्पनीले प्रमुख कार्यकारी अधिकृत छनौटको प्रक्रियालाई अगाडि बढाएको छ । 

कम्पनीले नागरिक स्टक डिलर कम्पनी लिमीटेडको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाबाट पूर्ति गर्ने योजनाअनुसार २०७७ असार १८ गते दरखास्त आह्वान गरिएको र आएका आवेदनमध्ये २ जनालाई सर्टलिस्टको सूचीमा राखिएको छ । 

कम्पनीले शनिवार एक सूचना प्रकाशित गरी प्रमुख कार्यकारी अधिकृतका लागि महेश्वरलाल श्रेष्ठ र सन्तोषराज नेपाललाई सर्टलिस्टमा पारिएको बताएको छ । 

दुवै उम्मेद्वारहरुलाई व्यवसायिक रणनीति र कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि आगामी शनिवार(असोज १७ गते) नयाँबानेश्वरको कृष्णटावरमा रहेको स्टक डिलरको कार्यालयमा बोलाइएको छ । 

यसको अर्थ नागरिक स्टक डिलर कम्पनीको सीइओमा श्रेष्ठ वा नेपालमध्ये एकजना नियुक्त हुनेछन् । 

नागरिक स्टक डिलर कम्पनीले सीइओ नियुक्त गरिसकेपछि बाँकी काम अगाडि बढ्ने बताइएको छ । यही हिसाबले हेर्ने हो भने धेरै प्रयास गर्दा मात्रै स्टक डिलरले दशैंअघिबाट बजार प्रवेश गर्ने देखिन्छ।