चितवन । चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ ।

कागज उद्योगको इतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल बन्द रहे पनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो ।

नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लगानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज प्रालि सञ्चालनमा आएको हो ।

उद्योगले बुधबार एक पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानीय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर ईण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएको जनाएको छ ।

नवलपुरस्थित आरुङ्गखोलामा विस २०७५ सालदेखि स्थापना भई भरतपुरमा केन्द्रिय कार्यालय रहेको यो उद्योगले झण्डै दुई बर्षको तयारीपछि आफ्नो उत्पादन बजारमा ल्याउन लागेको हो ।

मुख्य रुपमा प्याकेजिङ्ग(कार्टुन) बनाउने कागज उत्पादन पहिलो चरणमा सुरु गर्न लागेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए ।

यसअघि नेपालमा प्याकेजिङ्गका लागि भारत र चीनसहित तेश्रो मुलुकबाट आयात गर्ने अवस्था थियो । निकट भविष्यमा सेतो कागज पनि यहीँ उत्पादन गर्ने र मुलुकको कुल खपतको आधा हिस्सा ओगट्ने लक्ष्य राखेका उनको भनाई छ  ।

“नेपाली पहिचान दिने र यहाँको उत्पादनलाई प्रयोग गर्दै आत्मनिर्भर र स्वदेशी कच्चा पदार्थको प्रयोगमा जोड दिदै हामीले नयाँ कागज उद्योग सञ्चालनमा ल्याएका हौँ ।' उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले भने,-'लामो समयमा विभिन्न व्यापार व्यवसायमा अनुभव बटुलेका युवा व्यवसायीहरुले स्वदेशी कच्चा पदार्थमै नयाँ प्रयोग गर्दै क्वालिटी पेपर ईण्डष्ट्रिज प्रालि जन्मियो।”

कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग सञ्चालनमा आएको प्रबन्ध निर्देशक राजन पियाले जानकारी गराए । उनले युरोपियन प्रबिधिको प्रयोग गरी वातावरण प्रदुषणलाई रोक्न यो कागज उद्योग स्थापना भएका दाबी पनि गरे । 

यस उद्योग करिब ११ बिघा क्षेत्रफलमा फैलिएको छ ।

नेपालमा हाल ८० प्रतिशत सेतो कागज  तथा ६० प्रतिशत प्याकेजिगं कागज विभिन्न मुलुकबाट आयात हुने गरेको तथ्याकं छ ।

“नेपालमा खेर जाने कागजजन्य फोहोर हाल सस्तो मूल्यमा विदेश निर्यात हुँदै थियो ।” उनले भने, अबदेखि स्वदेशमा नै यसको पुनः प्रयोगमा ल्याउनु हाम्रो मुख्य उद्देश्य पनि हो ।”

स्वदेशमा नै रोजगारी सिर्जन गरेर देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन ४ जना युवाहरु र प्रभू बैंक लिमिटेडको सहकार्यमा १ सय करोड रुपैयाँ लगानीमा उद्योग सुरु हुन लागेको हो । उद्योगले स्थानीय १ सय ५० जनालाई रोजगारी दिने बताएको छ ।

नेपालमा हाल ३ वटा कागज उद्योग रहेका छन् । विरगञ्ज र विराटनगरको उद्योग सञ्चालनमा रहे पनि भैरहवाको उद्योग बन्द छ ।

उद्योगले नेपाली बजारबाट निस्कने दैनिक १ सय १५ टन कागजजन्य फोहर संकलन गरी प्रशोधन गरी १ सय २० टन उत्पादन गर्नेछ । यसअघि यस्तो फोहोर धेरै मात्रामा भारत र चीनमा निर्यात हुँदै आएको थियो ।

उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मूल्यमा उत्पादन बिक्री गर्ने उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले जानकारी दिए ।

यो उद्योगले पत्रपत्रिका प्रकाशनका लागि आवश्यक कागज पनि उत्पादन गर्नेछ । यसबाट विदेश गइरहेको ठूलो रकम रोकिने लगानीकर्ताहरुको दाबी छ ।