काठमाण्डौ । पछिल्ला दिनहरुमा कोरोना संक्रमित थपिने क्रम केही घटेर गएको छ । संक्रमणको दर घटेसँगै कोरोनामाथि जित हासिल गरी घर फर्किनेको संख्या पनि बढिरहेको छ । यो क्रमले बुधबार पनि निरन्तरता पायो । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ११६ संक्रमित थपिएका छन् । तर, यही अवधिमा डिस्चार्ज हुनेको संख्या भने ६९७ जना रहेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार ९० नमूना परीक्षण गर्दा १६६ मा पोजिटिभ केश देखिएको हो । यसले समेत नेपालमा संक्रमणको दर घटेको देखाउँछ । 

थपिएको संख्यासँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

यस्तै, पछिल्लो पटक डिस्चार्ज भएको थप संख्यासहित कुल डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । 

यसैबीच, कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । 

उनी कोरोना संक्रमणका कारण भारतको बैंगलोरमा मृत्यु भएका दाईको अन्त्येष्ठीमा सहभागी भएर असार २४ गते नेपाल आएका थिए ।

नेपाल फर्किएर क्वारेन्टिनमा बसेका उनमा उच्च ज्वरो, रुघाखोकी देखिएपछि असार २९ गते वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा सारिएको थियो । उपचारको क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।