काठमाण्डौ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि प्रदेश १ सरकारले आवश्यक तयारी तीव्र गतिमा थालेको छ । 

यो क्रममा त्यहाँको सरकारले आइतबार मोरंग र सुनसरीका विभिन्न स्थानमा ३०० बेड क्षमताको आइसोलेसन केन्द्र संचालन गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाज, रंगेली नगरपालिकास्थित वडा नं. ७ स्थित जनता क्याम्पसको भवनमा र सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि. जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिका स्थित कृष्णदास आश्रम, चतरामा कोभिड–१९ को संक्रमित लक्षणविहीन व्यक्तिहरु राख्नका लागि क्रमशः ५० बेड, १०० बेड, ५० बेड र १०० बेड क्षमताको आइसोलेसन केन्द्र संचालन गने निर्णय भएको हो । 

यस्तै, प्रदेश सरकारले सुनरी, मोरङ र झापाका एक/एक वटा निजी होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र संचालन गर्ने अर्को निर्णय समेत गरेको छ ।