ताजा पानीमा पाइने संसारको सबैभन्दा ठूलो मोती लिलाम बढाबढमार्फत् तीन लाख २० हजार युरोमा बिक्री भएको छ।

स्लीपिङ लायन अर्थात् सुतिरहेको सिंह नाम दिइएको उक्त मोतीको लम्बाइ सात सेन्टिमिटर छ भने तौल १५३ ग्राम छ।

कुनै बेला त्यो मोती रुसी महारानी क्याथरिन द ग्रेटको स्वामित्वमा थियो।

तर लिलामीमा भने पहिले अनुमान गरिएअनुसारको मूल्य त्यस मोतीले प्राप्त गर्न सकेन।

नेदरल्यान्ड्सको द हेगमा अवस्थित एउटा लिलाम घरका अनुसार २४० वर्षमा पहिलो पल्ट उक्त मोती लिलामीका लागि उपलब्ध भएको थियो।

युरोप पुग्नुअघि सन् १७०० देखि १७६० को बीचमा चीनमा उक्त मोती निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ।

अनुमान
क्याटलगमा उक्त मोतीको मूल्य तीन लाख ४० हजारदेखि पाँच लाख ४० हजार युरोसम्म अनुमान गरिएको थियो।

विगत २० वर्षमा विशेषज्ञहरूले उक्त मोतीको विभिन्न अध्ययन अनुसन्धान गरेका थिए।

अनौठो आकारको भएपनि उक्त मोती ताजा पानी भएको स्थानमा प्राकृतिक रूपमा नै बनेको हो भन्ने तिनीहरूको निष्कर्ष रहेको छ।

यो त्यस प्रकारको हालसम्म फेला परेकोमध्ये सबैभन्दा ठूलो मोती हो।

चीनको चिङ राजवंशले ठूला मोतीको निर्यातमा प्रतिबन्ध लगाएको भएतापनि डच इस्ट इण्डिया कम्पनीमार्फत् उक्त मोती युरोप पुगेको सो लिलाम घरले जनाएको छ।

मालिक
उक्त कम्पनीका महालेखापाल हेन्ड्रिक कोनराड सान्डेर सो मोतीको पहिलो मालिक हुन सक्ने ठानिएको छ।

उनेका निधनपछि सन् १७७८ मा एम्सटरड्याममा उक्त मोतीको लिलामी गरिएको थियो र त्यसलाई रुसी महारानी क्याथरिन द ग्रेटका लागि खरिद गरिएको थियो।

त्यसपछिको दुई शताब्दी युरोपका विभिन्न व्यापारी, जौहरी र धनाढ्यहरूको स्वामित्वमा उक्त मोती रहन पुग्यो।

सन् १९७९ मा एमस्टरड्याम मोती समाजले उक्त मोती खरिद गरेको थियो र त्यसलाई बिहीवार सोही सङ्गठनले बिक्री गरेको हो।

-बीबीसीबाट