काठमाण्डौ । बैंकहरुमा रहेको निक्षेप नवीकरण गर्ने बेलामा तानातान भई अस्वस्थ प्रतिस्पर्धा हुने देखिएपछि नेपाल बैंकर्स संघले संस्थागत निक्षेपको नवीकरणमा शून्य दशमलव १ विन्दूसम्म बढाएर ब्याज दिइन सकिने सहमति गरेको छ । 

आइतबार बसेको संघको नियमित बैठकमा यस्तो सहमति भएको हो । 

यो सहमतिसँगै अब बैंकहरुले नवीकरण गर्ने निक्षेपमा ८.६ प्रतिशतसम्म ब्याज सार्वजनिक गर्न पाउनेछन् । नियामकीय प्रवाधान अनुसार प्रकाशितभन्दा एक प्रतिशत बिन्दुसम्म बढाएर ब्याज दिन सकिन्छ । यसको अर्थ संस्थागत निक्षेपकर्ताले ९.६ प्रतिशतसम्म ब्याज नवीकरणको बेलामा पाउनेछन् ।

बाँकी ब्याजदरको बिषयमा भने पुरानो सहमतिलाई नै यथावत राखिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । 

यसअघि सनराइज बैंक र एनसीसी बैंकले सेञ्चुरी लगायतका बैंकका परिपक्व भएको नेपाल टेलिकमको निकै ठूलो निक्षेप बढी ब्याज दिएर लगेपछि भद्र सहमति तोडिने अवस्था सिर्जना भएको थियो । ८.६५ प्रतिशत ब्याजदर प्रकाशित गरी सनराइज र एनसीसीले निक्षेप खोसिदिएका थिए । त्यसको एकदिनपछि सेञ्चुरीले समेत काउण्टर दिंदै ८.८८ प्रतिशतको ब्याजदर प्रकाशित गरेको थियो । अवस्था भद्रगोलउन्मुख हुने देखिएपछि बैंकर्स संघ र राष्ट्रबैंकको सम्बद्ध विभागले पहल थालेका थिए । सो क्रममा एनसीसी र सनराइजले भद्रसहमति विपरीत प्रकाशित ब्याजदर फिर्ता लिएका थिए ।

सेञ्चुरीले समेत काउण्टरमा प्रकाशित गरेको ब्याजदर फिर्ता गरेको थियो ।

आइतबारको बैंकर्स संघको बैठकमा बैंकहरुले भद्र सहमति तोड्ने अवस्था किन आउँछ भन्ने बिषयमा गहन अध्ययनको आवश्यकता रहेकोमा बैंकरहरुले जोड दिएका थिए । कतिपय कमजोर अवस्थाका वाणिज्य बैंकहरुले भने एउटै दर सबै खालका बैंकलाई तोकिँदा आफूहरुले निक्षेप जोगाउन नसक्ने अवस्था आउने र यस्तो व्यवस्थाले आफूहरुको व्यवसायमै प्रतिकूलता सिर्जना हुने भन्दै कमजोर बैंकलाई ब्याजदरमा केही सहुलियत हुनुपर्ने माग राखेका थिए । 

सेञ्चुरीलाई पीडा
पछिल्लो समयको ब्याजदरको भद्रसहमति तोड्ने खेलले सबैभन्दा ठूलो पीडा सेञ्चुरी बैंकले भोग्नुपरेको छ । 

सनराइज र एनसीसी बैंकले सेञ्चुरीमा परिपक्व भएको नेपाल टेलिकम लगायतका संस्थागत निक्षेपकर्ताको १ अर्ब बढी निक्षेप नवीकरण गर्ने बेलामा बढी ब्याज अफर गरेर खोसेका थिए । 

बैंकर्स संघको दवाबपछि उनीहरुले बढाएर प्रकाशन गरेको ब्याजदर फिर्ता लिए पनि सेञ्चुरीबाट लगेको पैसा भने फिर्ता गरेनन् । फलस्वरुप, यो दौडले सेञ्चुरीले अनाहकमा १ अर्ब निक्षेप गुमाउनुपर्यो ।