क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएपछि अरब‌ौं रुपैया बराबरको डिजिटल मुद्रा हराउने खतरा भएको छ।

क्वाडरिगा नामक सो भर्चुअल अर्थात भौतिक अस्तित्व नभएको मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा दायर भएको छ। लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैया बराबरको क्रिप्टोकरेन्सी मुद्रा हराइरहेको छ।

संस्थापक गेराल्ड कोटेनको गएको डिसेम्बरमा मृत्युभए यता ती क्रिप्टोकरेन्सी मुद्रा कहाँ छन् भन्ने पत्ता लगाउन सकिएको छैन।

तीस वर्षीय कोटेन एक्लैले क्वाडरिगाको कोष र मुद्राको व्यवस्थापन जिम्मेवारी लिएका थिए।

गायब डिजिटल मुद्रा
जनवरी ३१ मा क्यानडाको नोभा स्कटिया सर्वोच्च अदालतमा पेश गरिएको कागजातमा कोटेनकी विधवा जेनिफर रोबर्टसनले आफ्नो पतिले क्वाडरिगासम्बन्धी कार्य गर्ने कम्प्युटर इन्क्रिप्ट गरिएको र आफुलाई त्यसको पासवर्ड थाहा नभएको बताएकी छिन्।

"पटक पटकको प्रयासपछि पनि मैले कतै पनि उनले केही लेखेको कुरा पत्ता लगाउन सकेकी छैन," उनले बयानमा लेखेकी छिन्।

क्वाडरिगा कम्पनीले एक जना अनुसन्धानकर्मीलाई सूचना खोज्न लगाएपनि उनले कोटेनको फोन र कम्प्युटरको सहारामा थोरै मुद्रामात्रै खोज्न सकेको बताइएको छ।

कम्पनीका अनुसार एक लाख १५ हजार मानिसहरूको क्वाडरिगामा खाता छ।

एक अनुमान अनुसार कम्पनीले २१ अर्ब ८३ करोड बराबर नेपाली रुपैया ऋण तिर्नु छ जसमध्ये छ अर्ब १३ करोड नगद ऋण छ।

अदालतमा पेश गरिएको कागजातका अनुसार क्वाडरिगाले चोरीबाट बच्न धेरै जसो मुद्रा इन्टरनेटमा राखेको थिएन्।

कोटेनको भारत भ्रमणको क्रममा मृत्यु भएको थियो।

के हो क्रिप्टोकरेन्सी?
क्रिप्टोकरेन्सी भनेको डिजिटल वा भर्चुअल अर्थात कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो।

क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ। यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ।

संसारभर क्रिप्टोकरेन्सीको प्रचलन र भाउ बढ्दै गएका कारण मानिसहरूले सुन या भौतिक मुद्रा बेचेर यसमा लगानी गर्ने चलन बढेको छ।

-बीबीसी