काठमाण्डौ । आधा शताब्दी भन्दा लामो समय पेटोलियम पदार्थमा निर्भर रहेको साउदी अरबले आफ्नो अर्थतन्त्र धान्न अब देशमा उपलब्ध वैकल्पिक प्राकृति संसाधनतर्फ ध्यान दिन थालेको छ। साउदीले हजारौं मिटरको मरुभूमिमा कैयन शहर बसाउने तयारीमा जुटेको छ । मरुभूमिमा नयाँ नयाँ शहर बसाएर लगानीको वृद्धिसँगै रोजगारी तथा आम्दानी वृद्धि गर्ने यो देशको योजना रहेको अन्तराष्टिय संचारमाध्यमहरुमा छापिएको रिपोर्टमा उल्लेख छ । 

आम्दानी तथा आर्थिक उन्नतिको नयाँ नयाँ विकल्पतर्फ साउदीको ध्यान जान थालेपछि धेरैले उसको तेलको खेल अब समाप्त हुने अवस्थामा पुुगेको र देशलाई टिकाउन आम्दानीका अन्य विकल्पतर्फ ध्यान दिनुु उसको बाध्यता भएको दाबी गरिरहेका छन् । तेलप्रतिको निर्भरता घटाउन साउदी अरबले के गर्न खोजिरहेको छ त ? हेरौं बुँदागत रुपमा :

रातोसागर(रेड सी) परियोजना
गत वर्षको अप्रिल महिनामा साउदी अरबले साउदी भिजन २०३० घोषणा गरेको थियो । योमार्फत जुन जुन महत्वकांक्षी परियोजनाहरु घोषणा गरिएका थिए, तीमध्ये एउटा थियो रातो सागर परियोजना । साउदी अरबले रेड सीको तटीय क्षेत्रमा ५० टापुु तथा ३४ हजार वर्ग किलोमिटरको ग्लोबल टुरिजम हब निर्माणको योजना बनाएको छ । यो परियोजनाको मुख्य उद्देश्य विश्वभरका धनाढ्यहरुलाई आकर्षित गर्नु हो । 

अल फैसलियाह
मक्कादेखि पश्चिममा अवस्थित अल फैसलियाहमा आवासीय परियोजनाको काम हुनेछ । यो शहरमा मनोरञ्जनका हरेक आधुनिक साधन, अत्याधुनिक एयरपोर्ट र समुन्द्री बन्दरगाह हुनेछन् । २४५० वर्ग किलोमिटर क्षेत्रमा यो परियोजना सन् २०५० सम्म तयार हुनेछ । 

मनोञ्जनको शहर
अर्थव्यवस्थालाई गति दिनका लागि साउदी अरबले आफ्नो रुढीवादले ग्रस्त समाजका कतिपय नियमहरुलाई समेत परिवर्तन गर्ने योजनामा छ । कन्सर्ट, डान्स शोहरु तथा फिल्मको स्क्रिनमा आकर्षित हुने मानिसको संख्या लगातार बढिरहेको छ । सरकारले समेत सन् २०३० सम्म त्यहाँ बस्ने प्रत्येक परिवारले आफ्नो मनोरञ्जन खर्च बढाएर दुुईगुणा पुर्याउन् भन्ने चाहना राख्ने रिपोर्टमा उल्लेख गरिएको छ । यही उद्देश्यले राजधानीको रियादको दक्षिण पश्चिममा अवस्थित अल किदिया भन्ने ठाउँमा साउदी अरबकै सबैभन्दा ठूलो सांस्कृतिक खेल तथा मनोरञ्जन सिटी तयार हुनेछ । यो परियोजना ३३४ वर्ग किलोमिटरमा तयार हुनेछ । 

राजा अब्दुल्लाह आर्थिक सिटी
साउदीका पूर्व राष्टाध्यक्षको नाममा स्थापित केएईसी देशकै पहिलो फ्रिहोल्ड सिटी बन्न गइरहेको छ । यो प्रोजेक्टमा गहिरो समुन्द्री पोर्ट, ५५ वर्गकिलोमिटरको लजिस्टिक हब, स्पोर्टस तथा रिक्रिएसन सेन्टर तथा ६५०० आवासी सम्पत्ति विकसित हुनेछ । 

राजा अब्दुल्लाह आर्थिक जिल्ला
केएफएडीको निर्माणको मुख्य उद्देश्य दुुबईको इन्टरनेशनल फाइनान्सियल सेन्टरलाई टक्कर दिनुु रहेको छ । यो क्षेत्रमा बैंक, फाइनान्सियल फर्म, अडिटर, कानून व्यवसायीको साथमा साउदी अरबको स्टक एक्सचेञ्ज तथा पूँजीबजार सबै एकै ठाउँमा हुनेछन् । रियादबाट उत्तरमा अवस्थित यो प्रोजेक्टको ७० प्रतिशत काम पूरा भइसकेको छ । 

नलेज इकोनोमिक सिटी
मदिनामा साउदी अरबको यो नै पहिलो स्मार्ट सिटी हो । यसलाई ज्ञानमा आधारित उद्योग, मेडिकल, हस्पिटालिटी, टुरिजम तथा मल्टि मिडियाको केन्द्रको रुपमा विकास गरिनेछ । ४.८ वर्ग किलोमिटरमा फैलिएको यो शहरसँग मक्का र जेद्धासँग सोझो सम्पर्क हुनेछ । 

प्रिन्स अब्दुलअजीज बिन मोसाद इकोनोमिक सिटी
१५६ वर्ग किलोमिटरमा तयार भइरहेको यो परियोजनाको उद्देश्य अन्य विभिन्न उद्देश्यलाई पूरा गर्नु हो । राज्यको उत्तरमा अवस्थित हेलमा आवासीय क्षेत्र, अन्तराष्टिय एयरपोर्ट, होटल, सपिङ सेन्टर तथा मनोरञ्जनस्थलहरु समेत निर्माण हुनेछन् ।