काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार बढी सक्रिय संक्रमित पुगेमा फेरि लकडाउन गर्नुपर्ने सुझाव पेश गर्ने भएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस व्रिफिङको क्रममा देशमा २५ हजार बढी सक्रिय संक्रमित पुगेमा फेरि लकडाउन गर्न सरकारलाई सुझाव दिइन लागेको बताए । 

सक्रिय संक्रमितको संख्या २५ हजार बढी पुगे मुलुकको स्वास्थ्य पूर्वाधारले धान्न नसक्ने भएकोले यस्तो सिफारिस गर्ने निर्णयमा पुगिएको बताए । तर, लकडाउन गरेर चाहिँ सक्रिय संक्रमितको संख्या कसरी घट्छ र बिरामी धान्ने पूर्वाधारको व्यवस्थापन कसरी हुन्छ भन्ने विषयमा उनले केही पनि खुलाएनन् । 

बुधबारसम्म देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । यसको अर्थ अबका केही दिन डिस्चार्ज हुने दर न्यून भई संक्रमित थपिने क्रम बढेमा सक्रिय संक्रमितको संख्या २५ हजार पुग्नसक्छ । बुधबारको तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्या २५ हजार पुग्नलाई ७ हजार ५८६ संख्या मात्र कमी छ । 

तर, मन्त्रालयले गरेको सिफारिस सरकारले लागू गर्छ नै भन्ने पनि हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारका अन्य मन्त्रीहरु पछिल्लो समय फेरि लकडाउन वा निषेधाज्ञा नगर्ने पक्षमा छन् । 

यसैबीच, स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तीमा एक महिना बन्द गर्न समेत सरकारलाई सिफारिस गर्ने भएको छ ।