-सिवी अधिकारी 
काठमाडौँ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेका छन् ।

वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पुर्याएका कुशल पर्वतारोही उनले पथ प्रदर्शकको भूमिका मात्र हैन, आफ्नो किर्तिमानीमा पनि नयाँ आयाम थपेका हुन् ।

यो यामसहित १३औँ पटक सगरमाथाको चुचुरोमा पुगेर फुर्वाले आफ्नो नयाँ पहिचान बनाउनुका साथै आफ्नै परिवारको सातजनाको समूहलाई सगरमाथा आरोहण गराएका र उनीहरूमध्ये चारजनाले एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएको आरोही फुर्वा शेर्पाले जानकारी दिए । 

एउटै परिवारका एकै समयमा आरोहण गरेर किर्तिमानी कायम गर्नेमा फुर्वा तेञ्जिङ शेर्पा, फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडीकी शेर्पा रहेका छन् ।

फुर्वा तेञ्जिङले यसअघि २४ वर्षको उमेरमा नौपटक र तीन दिनमा दुईपटक सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

यसपटकको सगरमाथा आरोहणमा धेरै कीर्तिमानी कायम भएको छ । सोलुखुम्बुका कामिरीता शेर्पाले वैशाख ३१ गते सगरमाथाको चुचुरोमा २२ पटक आरोहण गरेर र सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका पेम्बादोर्जे शेर्पाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमान राखेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । 

यही याममा संखुवासभाकी ल्हाक्पा शेर्पाले सगरमाथाको नौपटक सफल आरोहण गरेर नेपाली महिलाको नयाँ कीर्तिमान कायम गरेकी छिन् ।

राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार रोशा बस्नेतसहित चार महिला पत्रकारले यही वैशाख ९ गते सगरमाथाको सफल आरोहण गरेका छन् । उनका साथै अन्य तीन पत्रकारमा टोलीनेता रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय), मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ रहेका छन् ।  ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नारासहित सो महिला पत्रकार समूह सगरमाथा आरोहणमा गएको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार समूहका पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन् । उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पुर्याएका छन् । 

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएर यही जेठ ११ गतेसम्म चलेको थियो । 

यस याममा ४०० भन्दा बढीले आरोहण गरिसकेका छन् । अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको बसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम राजस्व संकलन भएको छ । 

सगरमाथा आरोहण सकेर धमाधम आरोही फर्कने क्रममा छन् । आरोही फुर्वा तेञ्जिङ शेर्पाका अनुसार अहिले आधार शिविरभन्दा माथि कोही पनि आरोही छैनन् । आरोहण सकेर घर फर्कन आधार शिविर र त्यसभन्दा तलतिर अनुकूल मौसमको पर्खाइमा छन् । बाक्लो हुस्सुले हेलिकप्टर पुग्न नसकेका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको छ । 

आधार शिविरभन्दा तल गोरखसेपमा रहेकी आरोही पत्रकार रोशा बस्नेतले आफ्नो आरोहण सफल रहेको र सकुशल आधार शिविर ओर्लिएको बताइन् । 

आइतबार आधार शिविर झरे पनि हेलिकप्टर नआएकाले काठमाडौँ फर्कने पर्खाइमा रहेको उनको भनाइ थियो । 

सगरमाथा आरोहण सहज 

मौसमले साथ दिएका कारण विगतमा भन्दा यस वर्ष सगरमाथा आरोहणमा सहज भएको छ । आरोही फुर्वाले मौसम राम्रो भएकाले नै योपटक आरोहण सहज भएको बताए । योपटक सगरमाथामा बाक्लो हिउँ भएकाले पनि आरोहणलाई सहज बनाएको उनको भनाइ थियो । 

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणका क्रममा तीनजनाको मृत्यु भयो भने एकजना बेपत्ता रहे । 

सम्पर्क अधिकृत श्रेष्ठले अघिल्ला वर्षको आरोहणमा भन्दा यो वर्ष कम क्षति भएको बताए।