काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा २७ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ । कम्पनीको अघिल्लो वर्षको यही अवधिको खूद नाफा २२ करोड ४३ लाखमा सीमित थियो । यसरी खूद नाफातर्फ कम्पनीले २२.७१ प्रतिशतको वृद्धि गरेको छ । 

समीक्षा अवधिमा सगरमाथाले १ अर्ब ७८ करोड बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५० करोड आर्जन भएको थियो । 

पुनर्बिमा कमिसनबाट २३ करोड २६ लाख आम्दानी गरेको छ भने लगानी, कर्जा तथा अन्यबाट ७ करोड ५६ लाख आम्दानी भएको छ । अघिल्लो वर्ष पुनर्बिमा कमिनसबाट १९ करोड ९३ लाख र लगानी, कर्जा तथा अन्यबाट ४ करोड ७४ लाख आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ४५ करोड ५० लाख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ३३ करोड ७० लाख मात्र थियो । 

यो अवधिसम्म सगरमाथाले १ लाख १३ हजार ९ सय ४८ बिमालेख जारी गरेको छ । अघिल्लो वर्षसम्म जारी बिमालेखको संख्या १ लाख २४ हजार थियो । 

सगरमाथा इन्स्योरेन्सको १३ करोड ६२ लाखमा सीमित जगेडाकोष बढेर १६ करोड माथि पुगेको छ भने ४१  करोड २७ लाखमा सीमित बिमा कोष बढेर ५५ करोड माथि पुगेको छ । ५ करोड ३२ लाखमा सीमित महाविपत्ति जगेडा बढेर ६ करोड ८१ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२१.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.०७ गुणा कायम भएको छ ।