काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडले सेयरधनीलाई बम्पर बोनस घोषणा गरेको छ। 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापूँजीको ८६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। 

कम्पनीको संचालक समितिको बैशाख २६ गते अपरान्ह बसेको २७१ औं बैठकले यस्तो निर्णय गरेको बताइएको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर बिमा समितिबाट स्वीकृत र वार्षिक साधारणसभाबाट पारित भएमा चुक्तापूँजी बढेर १ अर्ब माथि पुग्नेछ । 

घोषित बोनस सेयरमा लाग्ने कर चाहि सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ। 

खुलेआम इन्साइडर ट्रेडिङ
इन्साइडर ट्रेडिङ(भित्री कारोबार) नियन्त्रणको कडा कानून नबन्दा बजारमा कसरी खुलेआम यस्तो कारोबार हुन्छ भन्ने उदाहरण समेत सगरमाथा इन्स्योरेन्स भएको छ । 

यो कम्पनीले राम्रो बोनस सेयर वितरणको निर्णय गर्दैछ भन्ने कुरा बजारमा केही दिनअघिदेखि नै चुहिएको थियो । यहीकारण यो कम्पनीको सेयर लगानीकर्ताहरुले मरिहत्त गरेर किनिरहेका थिए । 

बोनस सेयर वितरणको विषयमा हुन लागेको सूचना कम्पनीको उच्च तहबाट चुहिएका कारण बैशाख २३ गते दोश्रो बजारको अन्तिम बिक्री मूल्य १३५१ रुपैयाँ रहेको कम्पनीको मूल्य बिहीबार बजार बन्द हुँदा बढेर प्रतिकित्ता १५३० रुपैयाँ पुगेको थियो । बैशाख २४ गते १३८०, २५ गते १४१० हुँदै बैशाख २६ गते अर्थात बिहीबार १५३० रुपैयाँ पुगेको हो । 

यसरी हेर्दा बोनस सेयरको निर्णय हुने सूचना चुहिएकै कारण इन्साइडर ट्रेडिङ गर्नेहरुले सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य ४ दिनको अवधिमा ११ प्रतिशत भन्दा बढीले बढाउन सफल भए । 

यसरी हेर्दा सामान्य मानिसले समेत बुझ्ने गरी खुलेआम भित्री कारोबार हुँदा समेत यो विषयमा नेप्से, धितोपत्र बोर्ड वा अन्य सम्बद्ध निकायले चासो दिंदैनन् । यहीकारण समेत कतिपयले विगत लामो समयदेखि नै यस्ता भित्री कारोबारमा सबै पक्षको मिलीभगत हुने दाबी गर्दै आएका छन् ।