काठमाण्डौ । नेपाली युवा गोविन्द गिरीद्वारा निर्मित सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी जुटाउने उद्देश्यले अनलाइनबाट आइपीओमा थामिनसक्नु गरी आवेदन परिरहेको छ । 

यो सामाजिक सञ्जालले फेब्रुुअरी ९ देखि संसारभर ८ लाख ६९ हजार ५ सय ६४ कित्ता प्राथमिक सेयर निश्कासन गरी त्यसमा अनलाइन आवेदन लिन सुरु गरेको हो । 

अघिल्लो साता राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले भनेका थिए–‘संसारका जुनसुकै कुनामा रहेका जो कोही व्यक्तिले पनि सगुनमा कम्तिमा २९९ डलर लगानीको गरी शेयरधनी बन्न सक्नेछन्।’

सगुनका संस्थापक गोविन्द गिरीले केही समयअघि भनेका थिए–‘सगुनका समर्थक तथा शुभेच्छुकहरु जसले हाम्रो सपनामा विश्वास गर्नुभयो। म उहाँहरुलाई यो अवसर बाड्न चाहन्थे। धितोपत्र कारोबार आयोगको स्वीकृति पाएको छ। अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहुनेछ। अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम हामीले समाजका विभिन्न पक्षहरुमा सकारात्मक काम गर्न सक्ने भएका छौ।’

नेपाली युवा गोविन्द गिरीले निर्माण गरेको अमेरिकी कम्पनी सगुन सन् २००९ मा सर्च इञ्जिनका रुपमा स्थापित भएको थियो। १२ वर्ष पेन्टागनमा सूचना प्रविधिज्ञको रुपमा काम गरेका गिरीले सगुनलाई सामाजिक सञ्जालका रुपमा स्थापित गरेपछि सन् २०१५ को नोभेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सगुन डट कमको औपचारिक सुरुवात गरेका थिए।

सगुनले अघि सारेको कनेक्ट, सेयर एन्ड अर्न अर्थात् ‘सामाजिक सञ्जालमा जोडिनुहोस्, आफ्ना अनुभव र सकारात्मक सिकाइ करोडौंका बीचमा बाँड्नुहोस् र केही कमाउनुहोस’ भन्ने उद्देश्यलाई दुुई हप्ताअघि संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले स्वीकृति दिएको थियो। सो अनुसार सगुनले ’ग’ श्रेणीको ८,६९,५६४ कित्ता साधारण शेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा प्राथमिक सेयरको बिक्री थालेको हो । 

सगुुनका अधिकारीहरुका अनुसार अमेरिकन जब्स एक्ट २०१२ अनुसार कुनै पनि ‘मिनी आइपीओ’ ले ५ करोड डलरसम्म वार्षिक रुपमा पैसा उठाउन पाउँछन् । तर यो कम्पनीले यो वर्ष दुई अर्ब रुपैयाँ बराबरको शेयरका लागि मात्र आवेदन आह्वान गरेको छ । शेयरधनी बन्नको लागि कम्तिमा १३ कित्ता किन्नुपर्ने हुन्छ।

सगुनको यो अवसर विदेशमा बस्ने नेपाली र पहिला भर्नेलाई पहिलो प्राथमिकताको आधारमा प्रदान गरिने बताइएको छ । 

लगानी गरेको सुरुवातीको चरणमा सेयरमा प्रति कित्ता २३ डलरको दरले पर्न आउँछ । जुन सगुनले २ करोड डलर अर्थात २ अर्ब रुपैयाँ भन्दा बढीको शेयर जारी गरेको छ। अहिलेसम्म ४ हजार बढी व्यक्तिले ३५ लाख डलर बढीको लगानी प्रतिबद्धता जनाइसकेका थिए । 

कसरी गर्ने लगानी ?
सगुन डटकमका संस्थापक नेपाली भएकाले नेपाल बाहिर बसेका प्रवासी नेपालीहरुलाई यसमा लगानीको पहिलो प्राथमिकतामा राखिएको छ। यसका साथै सगुनले पहिलो पटक इच्छा देखाउने व्यक्ति पनि सगुनको पहिलो प्राथमिकतामा पर्ने सगुन नेपाल च्याप्टरका अजय शिवाकोटीले जानकारी दिए। उनले भने–‘सगुनले विदेशमा रहेका नेपालीलाई लगानी गर्न पहिलो प्राथमिकतामा राखेको छ। तर पहिलो पटक इच्छा देखाउने अन्य देशका नागरिक पनि पर्न सक्छन। यसका लागि शेयर खुल्ने अघिल्लो दिन इच्छुक व्यक्तिलाई इमेल मार्फत जानकारी आउँछ।’

उनले पहिला इच्छाएको व्यक्तिलाई दिएर मात्रै सेयर बाँड्ने भएकाले दामासाहीको आधारमा सेयर नपर्ने बताए । ‘विदेशमा रहेका नेपालीहरुले अनलाइनबाटै शेयर खरिद गर्न सक्नेछन्। उनीहरुले किनेको शेयर बैंक अकाउन्टबाट काटिनेछ। तर सुरुमा इच्छाउको व्यक्तिले कम्तिमा २९९ डलरको सेयर किन्नै पर्ने हुन्छ। सगुनमा लगानीको लागि www.sagoon.com/invest मा गएर इच्छुक जोकोहीले विश्वभरबाट पनि लगानी गर्न सक्नेछन् ।’ उनले भने । 
 
सगुनको शेयरमा नेपालबाट लगानी गर्न नपाए पनि विदेशमा बस्ने नेपालीलाई लगानीको अवसर जुटाइदिएको छ । यो आइपीओमा नेपाल बाहिर जुनसुकै देशमा बसेका नेपालीले आवेदन दिनसक्नेछन् । 

यसैबीच, सगुनले प्रयोगकर्तालाई ध्यानमा राखेर चाडै नै मोबाइल एप्स ल्याउने तयारी गरिरहेको छ । मोबाइल एप्सका लागि सगुन इन्डिया च्याटरले जिम्मेवारी लिइसकेको शिवाकोटीले जानकारी दिए। यो एप्स भारतबाट सार्वजनिक हुनेछ ।