काठमाण्डौ । कर्मचारी सञ्चयकोषले मल खाली गराउन उर्दी जारी गरेपछि सुन्धारास्थित काठमाण्डौ मलका व्यवसायीले आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । 

तीनसय भन्दा बढी पसल सटर संचालन भएको काठमाण्डौ मल एकाएक खाली गराउन भन्दै कोषले उर्दी जारी गरेपछि त्यसलाई गैरकानूनी र व्यवसायीमारा नीति भन्दै द काठमाण्डौ मल व्यापार संघले आन्दोलन थाल्ने घोषणा गरेको हो ।  

संघकी अध्यक्ष सुष्मा महराले बिजशालासँग कुरा गर्दै मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्न लागिएको बताइन् । उनका अनुसार ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न भन्दै व्यवसायीलाई त्यहाँबाट पसल हटाउन उर्दी जारी गरेको हो ।

सो मलमा विगत १५ वर्षदेखि निरन्तर व्यवसाय गर्दै आएका व्यवसायी समेत रहेका र उनीहरुले त्यहाँ करोडौंको लगानी गरेकोले ठेक्का सम्झौता तोडिएकै भरमा कोषले बिना क्षतिपूर्ति व्यवसायीलाई हटाउन नपाउने महराको भनाई छ । 

'करोडौं लगानी गरेका व्यवसायीको गरिखाने भाँडो बन्द गरेर कोषले सडकछाप बनाउन खोजेको छ ।' महराले भनिन्-'ठेकेदारसँग किन सम्झौता तोडियो, त्यो कोषको आन्तरिक कुरा हो । व्यवसायीको यसमा कुनै दोष छैन । उनीहरुले गरिखान पाउनुपर्छ ।' 

मलमा निकै चर्को मूल्य सकारेर ठेक्का पाएका ठेकेदारले वर्षेनी चर्को भाडा वृद्धि गर्दै आएका र त्यसलाई समेत झेलेर जेनतेन गुजारा चलाइरहेका व्यवसायीमाथि कोषले गिद्धेनजर लगाएकोमा उनको आपत्ति छ । मलमा सामान्य सटरको भाडा समेत अहिले मासिक ८० हजार पुर्याइएको छ । केही वर्षअघिसम्म २० हजारमा सीमित थियो ।  

व्यवसायीलाई हटाउन बल प्रयोग भए आफूहरु पनि चूप लागेर नबस्ने महराको चेतावनी छ । 

काठमाण्डौ मल कर्मचारी सञ्चयकोषको स्वामित्वको मल हो । उसले माघ १३ गते एक महिने सूचना जारी गरी मल खालि गराउन भनेको थियो । दोश्रो पटक फागुन ५ मा पुनः अर्को सूचना जारी गर्दै मलका व्यवसायीलाई कोषले २१ दिने समयसीमा दिएको छ । 

कोषले मलका तीनवटा तला खालि गरेर कर्पोरेट हाउस बनाउन खोजेको हो।