काठमाण्डौ । कर्मचारी सञ्चय कोषले स्टक डिलर कम्पनी दर्ता नगर्ने भएको छ ।

सञ्चय कोष ऐनमा अर्को सहायक कम्पनी स्थापना गर्न २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने प्रावधान भएकाले स्टक डिलर दर्ता नसकेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए।

'घरजग्गामा चाहिँ लगानी गर्न ऐनमा नै व्यवस्था भएअनुरुप हामीले अर्को कम्पनी खोलेर काम गर्यौं, तर पूँजीबजारमा भने २५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व ग्रहण गरी सहायक कम्पनी स्थापना गर्ने व्यवस्था नभएकाले हामीले स्टक डिलर कम्पनी खोल्न सकेनौं ।' कोषका प्रशासक गौतमले भने-'सीआइटीको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीसँग जोडिन सक्छौं ।' 

नागरिक स्टक डिलरको चु्क्तापूँजी बढाई स्टक डिलरको काम गर्ने विषयमा छलफल भइरहेको गौतमको दाबी छ ।

पाँच महिनाअघि सञ्चय कोषले सीआइटीको पदचाप पछ्याउँदै स्टक डिलर कम्पनीका रुपमा आउने लगभग निश्चित भएको थियो । सञ्चय कोषसँग राष्ट्रिय बीमा संस्थान र सामाजिक सुरक्षा कोषको संयुक्त लगानीमा स्टक डिलर दर्ता गर्ने बताइएको थियो ।

नेपालको पूँजीबजारमा संस्थागत लगानीकर्ताको अभावलाई परिपूर्ति गर्न सरकारी तवरबाट सञ्चय कोषको स्टक डिलर कम्पनीका रुपमा बजार प्रवेशलाई निकै सकारात्मक र बजारको स्थायीत्वका लागि कोशेढुंगा हुने दाबी गरिएको थियो.।