काठमाण्डौ । अब कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले ब्याज वा किस्ता घरबाटै तिर्न मिल्ने भएको छ।

सञ्चयकर्ताहरुले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाटै घरमै बसेर सञ्चय कोषको ब्याज वा किस्ता रकम तिर्न मिल्ने व्यवस्था मिलाइएको सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए। सञ्चय कोषले आज सोमबार एनसीएचएलसँग अनुबन्ध भई अनलाइनबाटै कोषको किस्ता सहज रुपमा तिर्न व्यवस्था मिलाइएको उनको भनाइ छ।

एनसीएचएलको कनेक्ट आईपीएसमा आबद्ध १०० हाराहारी बैंक तथा वित्तीय संस्थामा बैंक खातामा रहेका सञ्चयकर्ताले अब अनलाइन माध्यमबाटै कोषबाट प्रवाह भएका विभिन्न कर्जा तथा सापटीको ब्याज तथा किस्ता रकम तिर्न सहज हुुने भएको छ।

कोषले यसअघि नै माछापुच्छ्रे बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंकसँग सम्झौता गरी ती बैंकहरुबाट समेत सञ्चयकर्ताले किस्ता तिर्ने व्यवस्था मिलाइसकेको छ।