काठमाण्डौ । तीव्र गतिमा बढिरहेको शहरीकरण, सडकको बिस्तार वा यस्तै कारणले नेपालमा हुर्किसकेका रुखहरुलाई मायै नगरी काट्ने गरिएको छ । यस्ता हुर्किसकेका रुखहरु काट्नाले पर्यावरणीय सन्तुलन खलबलिनसक्ने खतरा हुन्छ । नेपालमा यसरी हुर्किसकेका रुखहरुलाई बचाउने अभियान कसैले सुरु गरिसकेको छैन, तर भारतको हैदरावादका एक व्यक्तिले जथाभावी हुर्किसकेका रुखहरु काट्ने गलत कामलाई रोक्नैका लागि सरकारी जागिर समेत छाडिदिएका छन् । रुख बचाउने अभियानमा लागेका उनले यही कामका कारण लोकप्रियता मात्र होइन, मासिक ८ लाख रुपैयाँ भन्दा बढी आम्दानी समेत गर्न थालेका छन् । 

कसरी भयो सुरुवात ?
हैदरावादका राचन्द्र अप्पारी नामका व्यक्तिले बताए अनुसार हैदरावादमा समेत कुनै समय सडक चौडा गर्ने काम चलिरहेको थियो र सो क्रममा सडक छेउछाउमा हुर्किसकेका रुखहरुको तीव्र कटान भइरहेको थियो । यही दृश्यले उनको मनमा यी हुर्किसकेका रुखहरु बचाउने अभियान थाल्ने योजना बन्यो । त्यसपछि उनको दिमागमा रुख कटानको विकल्पको रुपमा त्यसलाई अन्यत्र सार्ने उपाय आयो । हुर्किसकेको रुखलाई यसरी सार्दा रुख नकाटिने मात्र भएन, यसले पर्यावरणीय सन्तुलन कायम गर्न समेत मद्धत पुुग्ने उनले देखे । यसका लागि उनले टान्सलोकेसनको बिषयमा अध्ययन र रिसर्च थाले । त्यसपछि नै उनलाई हुर्किसकेका रुखहरुको समेत टान्सलोकेसन गर्ने आइडिया प्राप्त भयो ।

रामचन्द्रले कृषिमा मास्टर डिग्री र एमबिए समेत गरेका छन् । क्याम्पसको अध्ययन पूरा गरेपछि उनले सरकारी लाइफ इन्स्योरेन्स कम्पनीमा जागिर सुरु गरेका थिए । यो कम्पनीमा उनले ३ वर्षसम्म काम गरे । तर, उनको मन यहाँ रम्न सकेन । आठ वर्षसम्म कृषिको अध्ययन गरेपछि त्योभन्दा फरक काम गर्न उनको मनले समेत मानेन् । यहीकारण उनले जागिर समेत छाडिदिए । 

त्यसपछि उनले ग्रीन मोर्निंग हार्टीकल्चर सर्भिस प्रालि नामको एउटा कम्पनी दर्ता गराए र यो कम्पनीको मुख्य काम भनेकै हुर्किसकेका रुखबिरुवाहरुलाई एक ठाउँबाट जतनसाथ निकालेर अर्को ठाउँमा लग्नुु रहेको छ । रुखको टान्सलोकेशन एउटा प्रक्रिया हो, जहाँ रुखलाई जरैदेखि उखाल्ने काम गरिन्छ र त्यसलाई जस्ताको तस्तै अर्को कुनै नयाँ ठाउँमा लगेर रोपिन्छ । 

हैदरावादमा जब मेटो रेलको लिक निर्माणको काम सुरु भयो, त्यसपछि रामचन्दको कम्पनीले प्रस्तावित ट्याक निर्माणको क्रममा काटिने रुखहरुलाई जिवितै सार्न आग्रह गर्यो । यो क्रममा उनको कम्पनीले रेलमार्गमा परेर काटिने संभावित ८०० रुखहरुलाई जस्ताको तस्तै अर्को ठाउँमा सार्ने काम गर्यो र यही कामका कारण उनको कम्पनी एकाएक चर्चित समेत भयो । रामचन्द्रको भनाईमा नयाँ रुखबिरुवा रोप्नुु जति आवश्यक छ, उति नै आवश्यक हुर्किसकेका रुखबिरुवा बचाउनु पनि हो । टान्सलोकेशनको क्रममा सारिएको रुख ४ देखि ५ वर्षभित्रमा फेरि हुर्किएर ठूलै हुन्छ ।

यसरी सारिन्छ
रामचन्द्रले आफ्नो काममार्फत हालसम्म करिब ७ हजार रुखहरुलाई नयाँ जीवन दिइसकेका छन् । उनको यो विजिनेश अहिले भारतभर फैलिएको छ । रुखबिरुवालाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा निकै धेरै सावधानी अपनाउनुपर्छ । रुखको चारैतर्फ एक मिटरको दायरामा ३ फिटसम्म खनिन्छ । त्यसपछि त्यो रुखलाई निकालेर ढुवानीको साधनबाट अर्को ठाउँमा लगिन्छ । यसरी उखेलिएको रुखको जरामा रुट प्रोमोटिंग हार्भेस्ट केमिकल लगाइन्छ, ताकि रुख चाँडो हुर्किन सकोस् ।

कति हुन्छ कमाई ?
रामचन्द्रका अनुसार एउटा रुख सार्ने खर्च त्यसको साइज, त्यो रुखलाई सार्नुपर्ने ठाउँसम्मको दूरी आदिमा निर्भर गर्दछ । रामचन्द्रका अनुसार यसको सुरुवात १० हजार भारुबाट हुन्छ । उनका अनुसार ठूलै खालका रुख सार्ने काममा कम्पनीले १ लाख भारुसम्म चार्ज गर्छ । 

सन् २००९ मा सुरु भएको उनको कम्पनीको विजिनेश अहिले करोडौं रुपैयाँ भएको छ । गत वर्ष कम्पनीको कारोबार २.५ करोड भारु रहेको थियो । रामचन्द्रका अनुसार कुल टर्नओभरमा २५ प्रतिशत भन्दा बढी खूद नाफा कमाउन सकिन्छ । उनले यो खालको विजिनेश सुरु गर्ने आफू भारतमै पहिलो व्यक्ति भएको दाबी समेत गरेका छन् ।