काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पुँजी संरचनामा परिवर्तन गर्दै सतप्रतिशत हकप्रद सेयर निकाल्ने तयारीमा जुटेको छ । 

झापाको बिर्तामोडस्थित केन्द्रीय कार्यालय रहेको यस कम्पनीले आफ्नो विशेष साधारणसभामार्फत पुँजी संरचना परिवर्तनसँगै सतप्रतिशत हकप्रद सेयर निकाल्ने विशेष प्रस्ताव पारित गर्न लागेको हो । कम्पनीको सञ्चालक समितिको हिजो बुधबार बसेको १७९ औँ बैठकले साउन ४ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको छ । 

विशेष साधारणसभामा कम्पनीले हाल कायम रहेको जारी तथा चुक्ता पुँजीको ७० प्रतिशत संस्थापक सेयरधानी समूहको र ३० प्रतिशत सर्वसाधारण शेयरधनी समूहको सेयर स्वामित्व रहेकोमा सो पुँजी संरचनामा ५१ प्रतिशत संस्थापक सेयरधनी समूहको र ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । सोहीबमोजिम संस्थापक समूहबाट तीनजना र सर्वसाधारण समूहबाट तीजना सञ्चालकको प्रतिनिधित्व गर्ने व्यवस्थासम्बन्धी प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ । 

विशेष साधारणसभामा कम्पनी अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ । गाभ्ने/गाभिने र प्राप्ति गर्ने प्रक्रिया पूरा भएपछि कम्पनीले सेयरधनीहरुको नाममा कायम हुने गरी साधारण सेयर संख्याको १ः१ अनुपात (एक सेयर बराबर नयाँ एक सेयर) अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । 

विशेषसाधारण सभाका लागि कम्पनीको सेयर दाखिल खारेजको काम असार २७ गते एक दिन बन्द रहने कम्पनीले जनाएको छ ।