काठमाण्डौ । शक्ति र सत्ताको खेल तथा नशा विचित्रको हुन्छ । सत्ताको नशामा लीन भएकाहरुले आफन्त, नातागोता मात्र होइन, आफ्नै आमालाई समेत हेर्दैनन् भन्ने कुरा साउदी अरबका प्रिन्स(राजकुमार)ले पुष्टि गरिदिएका छन् । साउदीका राजकुमार मोहम्मद बिन सलमानले लामो समयदेखि आफ्नै आमालाई कैद गरेर राखेका सनसनीपूर्ण खुलासा एनबीसी न्यूजले गरेको छ । करिब एकदर्जन अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै एनबिसीले यस्तो खुलासा गरेको हो । 

गएको नोभेम्बरमा राजकुमारको योजना तथा निर्देशनमा दर्जनौ युवराज र उच्च सरकारी अधिकारीहरुलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरी कैदमा राखिएको थियो । उनले आफ्ना भाइभतिजहरु समेत नभनी सबैलाई कैदमा राखेका बताइएको थियो । 

अमेरिकी अधिकारीहरुले दाबी गर्दै भनेका छन् कि राजकुमार मोहम्मदलाई आफ्नो शक्तिका अगाडि आफ्नी आमा बाधक बन्ने निकै ठूलो चिन्ता देखिएको छ । यहीकारण उनले आफ्नै आमालाई समेत कैदमा राखेका हुन् । खबरमा बताइएअनुसार राजकुमार मोहम्मदले आफ्नी आमा फलाहा अल हाथलिनलाई दरबारको कुनै महलमा नजरबन्दमा राखेका छन् । यो बिषयको जानकारी राजा सलमानलाई समेत नदिइएको समाचारमा दाबी गरिएको छ । 

राजकुमारलाई यस्तो चिन्ता
राजकुमारलाई साउदी अरबको सत्तामा आफू अझ शक्तिशाली बन्ने प्रयासमा आफ्नी आमा अवरोध बन्नसक्ने चिन्ताले सताउने गरेको छ । उनकी आमाले आफ्ना बुुबा(साउदी राजा)लाई दवाबमा राखेर छोराको शक्तिशाली बन्ने सपनामाथि कुठाराघात गर्नसक्ने आँकलन समेत राजकुमारले गर्ने गरेका देखिएको अधिकारीहरुलाई दाबी गर्दै समाचारमा जनाइएको छ । यहीकारण समेत आफ्ना बुुबालाई आमासँग भेट गराउन समेत उनले दिएका छैनन् । अमेरिकी अधिकारीहरुले यो पनि दाबी गरेका छन् कि ओबामाको शासनकालमै साउदी राजकुमारले आमालाई बाहिरी दुनियाँको सम्पर्कमा आउन नदिन सुरु गरेका थिए । 

राजा पनि चूप
अधिकारीहरुले राजकुमारका पिता राजा सलमानले समेत आफ्ना छोराको कर्तुतको बिषयमा कुनै पनि प्रतिक्रिया दिन नचाहने दाबी गरेका छन् । उनले आफ्नो छोराको कामलाई साथ दिंदै आफ्नी पत्नी(साउदी रानी) स्वास्थ्यका कारण लामो समयदेखि देशबाहिर रहेकी भनेर झूठो कुरा गर्दै आएका छन् । सन् २०१५ मा जब साउदी राजा ह्वाइट हाउसको भ्रमणमा गएका थिए, त्यसबेला समेत उनले आफ्नी पत्नी न्यूयोर्क शहरमै रहेकी दाबी गरेका अमेरिकी अधिकारीहरुले बताएका छन् । तर, अमेरिकी खुफिया एजेन्सीहरुले भने साउदी राजाकी पत्नी अमेरिकामा नरहेको दाबी गरेका छन् । 

सत्तामा राजकुमारको बलियो पकड
पछिल्ला दिनहरुमा साउदी राजकुमारले सत्तामा निकै राम्रो पकड बनाइसकेका छन् । ३२ वर्षीय राजकुमारकै आदेशमा अन्य दर्जनौ युवराजहरुलाई हिरासतमा लिइएको छ र उनीहरुमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाइएको छ । 

६९ लाख करोडको खेल
साउदी अरबमा अझै पनि शाही शासन छ । हाल ६९ लाख करोड रुपैयाँ बराबरको जीडीपी भएको साउदी अरब चलाउने यो शाही परिवारलाई ‘हाउस अफ अल सौद’ भन्ने गरिन्छ । हालसम्म अल सौदबाट जन्मिएको छोराले नै साउदी सत्ता सम्हाल्दै आएको छ । राजा सलमान अल सौदका अन्तिम पुत्र हुन् । यहीकारण तेश्रो पिढीको सत्तामा दाबेदारी बढिरहेको छ । यहीकारण प्रिन्स मोहम्मद बिन सलमानलाई यो लाग्छ कि यदि सत्तामा उनको पकड मजबुत भयो भने उनी देशको सत्तामा सधैं टिकिरहन सक्नेछन् । यहीकारण हालै आफ्ना भाईहरुलाई भ्रष्टाचार आरोपमा हिरासतमा लिएको घटना होस् वा आफ्नै आमालाई कैद गरेको घटना नै किन नहोस्, उनका यी सारा कदमलाई सत्ताको खेलसँग जोडेर हेर्ने गरिन्छ ।