काठमाण्डौ । एमाले र माओवादी केन्द्रले बाम तालमेल गरेपछि तर्सिएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सत्ता टिकाउने उद्देश्यले राप्रपालाई सरकारमा सहभागी गराउँदै ८ मन्त्री नियुक्त गरेका छन् । 

राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री दिएर मन्त्रालय बिस्तार गरिएको हो । शुक्रबार गरिएको बिस्तारपछि मन्त्रीपरिषदक ६४ सदस्यीय पुुगेको छ । यति ठूलो मन्त्रीपरिषद नेपालको इतिहासमा कहिल्यै बनेको थियो । यसअघि ५६ सदस्यीय क्याबिनेट गठन गरेर रेकर्ड कायम गरेको देउवाले आफ्नै रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएका हुन् । 

राप्रपाबाट नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । कसैको पनि मन्त्रालय तोकिएको छैन । राप्रपाबाट नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ । उनीहरु सबैको सपथ शनिवार हुने बताइएको छ । 

कांग्रेस सभापति समेत रहेका देउवाले निर्वाचन आयोगको निर्देशन विपरीत मन्त्रीपरिषद बिस्तार गरेका हुन् । सन्निकट प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आचारसंहिता लागूू भइसकेको अवस्थामा यसअघि भएको मन्त्रीपरिषद बिस्तारमै आपत्ति जनाउँदै आयोगले यस्तो काम नदोहोर्याउन सरकारलाई निर्देशन दिएको थियो । तर, देउवाले आयोगको निर्देशनलाई लत्याउँदै इतिहासकै जम्बो क्याबिनेट बनाएका हुन् ।