काठमाण्डौ । सिंहदरबारका सदाबाहर मन्त्री तथा सत्ता भनेपछि हुरुक्कै गर्ने आरोप खेप्दै आएका राप्रपाका अध्यक्ष कमल थापा आफू र आफ्नो दललाई सरकारमा सहभागी नगराएछि प्रधानमन्त्री शेरबहादुर देउवासँग रिसाएका छन् । 

एनले लामो समयदेखि देउवालाई उपप्रधानमन्त्रीसहित केही मन्त्रालय दिएर सरकारमा सहभागी गराउन दवाब दिंदै आएका थिए । देउवाले उपप्रधानमन्त्री दिन नसक्ने अडान लिएपछि आफू सरकारमा सहभागी हुन नसक्ने देखेर उनले पार्टीका अन्यलाई समेत मन्त्री बनाउने बिषयमा इच्छा व्यक्त गरेका थिएनन् । 

देउवा निकट स्रोतका अनुसार कमल थापाले बुधबार बिहानसम्म पनि देउवासँग उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय दिन र आजै आफ्नो नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने भन्दै दवाब दिइरहेका थिए । तर, देउवाले उपप्रधानमन्त्री नदिने र ४ मन्त्रालय मात्र दिने अडान नछाडेपछि तत्काल सरकारमा जाने थापाको सपना तुहिएको छ । 

सत्तामै बसिरहनुुपर्ने थापाले आफ्नो स्वार्थ पूरा नभएपछि र राप्रपा बाहेकका दलबाट मन्त्री थप गरी देउवाले क्याबिनेट बिस्तार गरेलगत्तै एक विज्ञप्ति जारी गरी देउवा नेतृत्वको सरकारसँग सरकार गठनका लागि वार्ता गर्न बनाएको महामन्त्री जयन्त चन्द नेतृत्वको ३ सदस्यीय वार्ता समिति भंग गरेका छन् । एक विज्ञप्ति प्रकाशित गरी समिति भंग गरिएको राप्रपाले जानकारी दिएको हो । 

पार्टी अध्यक्ष थापाकै सत्तामोहकै कारण देउवासँग सम्बन्ध बिग्रिएको र थापाले पार्टीलाई आफ्नो स्वार्थमा कुदाएका भन्दै राप्रपाभित्र असन्तुष्टि बढेको एक नेताले जानकारी दिए । ‘सधैं सत्तामा टाँसिरहने स्वार्थलाई पूरा गर्न मात्रै अध्यक्षले पार्टीलाई प्रयोग गर्नुभयो ।’ ती नेताले बिजशालासँग भने–‘आफू उपप्रधानमन्त्री हुन नपाए पनि अन्य साथीहरुलाई ४ वटा मन्त्रालयमा पठाउन सकिन्थ्यो, त्यो गर्नुभएन, उहाँको स्वेच्छाचारीले चरम सीमा नाघिसक्यो ।’