►रमेश लम्साल
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेदेखि गर्न लागेका भारतको राजकीय भ्रमणको क्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा महत्वपूर्ण छलफल गर्ने तयारी गरिएको छ । 

विगत २३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको सो परियोजनालाई अगाडि बढाउन नेपाल र भारत सरकारको तर्फबाट गति दिने विषयमा महत्वपूर्ण छलफल गर्ने र एउटा आधार तयार पार्ने तयारी गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेढवर्ष पहिले गरेका नेपाल भ्रमणको क्रममा पञ्चेश्वर जलविद्युत् आयोजनाको विषयलाई प्रमुख प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाउने बचन दिएएपछि आयोजनाले केही गति लिएको हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) वापकोषले तयार पारेको सन्दर्भमा त्यसलाई दुवै देशका सरकारले आवश्यक पृष्ठपोषणसहित अन्तिम रुप दिनुपर्नेछ । गत असारमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले आयोजनाको डिपिआर तत्काल तयार पार्ने र आवश्यक सुझाव समेत दिने निर्णय गरेको थियो । 

तर, दुवै मुलुकका तर्फबाट हालसम्म डिपीआरको विषयमा कुनै पनि सुझाव प्राप्त नभएको सन्दर्भलाई ख्याल गर्दै एक महिनाभित्र त्यसलाई पूर्णता दिइने बताइएको छ । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले पञ्चेश्वर जलविद्युत् आयोजनाका सन्दर्भमा यस पटकको भ्रमणमा महत्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे । पञ्चेश्वर जलविद्युत् आयोजनालाई गति दिन नेपाल र भारत दुवैले विशेष गति दिनु जरुरी रहेको विषय नै भ्रमणको प्रमुख एजेण्डा हुनसक्ने सचिव घिमिरे बताउँछन ।

परामर्शदाता वापकोषले तयार पारेको डिपिआरमा आवश्यक संशोधन, सुझाव एवम् परामर्शलाई समयमै सकाउनुपर्ने आवश्यकता देखिएको छ । प्राधिकरणका कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङ पनि डिपिआरको विषय टुङ्गो लागेको खण्डमा आयोजना अगाडि बढ्न सहज हुने बताउछन् ।

नेपाल र भारतका प्रधानमन्त्रीबीचको छलफलमा सो विषयले प्रमुख प्राथमिकता पाउने अपेक्षा राख्दै गुरुङले भने–‘दुवै मुलुकले आवश्यक सुझावसहित डिपिआरलाई पूर्णता प्रदान गरेको खण्डमा आयोजना पूर्णरुपमा अगाडि बढ्न सक्थ्यो ।’

कुल ६ हजार ६९० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि पछिल्लो पटक आयोजनाको क्षमता घटाइएको छ । नेपालतर्फ कञ्चनपुर र भारतको केही भू–भागमा समेत सिंचाइ सुविधा उपलब्ध गराउने सो आयोजना विगत २३ वर्षदेखि अगाडि बढ्न सकेको थिएन । 

पञ्चेश्वर उच्च बाँध तथा रूपालीगाड रि–रेगुलेटिङ बाँध आयोजनाको गरी जम्मा लगानी रू तीन खर्ब ३६ अर्ब लाग्ने बताइएको छ । सो आयोजनामा नेपालले करिब रू एक खर्ब २६ अर्बदेखि रु एक खर्ब ३० अर्बमात्र लगानी गर्नुपर्ने बताइन्छ । आयोजनाबाट नेपाललाई वार्षिक रू ३४ अर्ब ५० करोड प्राप्त हुने र मत्स्यपालन, कार्बन व्यापार, सिँचाइ तथा पर्या पर्यटन, जडीबुटी, फलफूलमा उल्लेख्य आम्दानी गर्न सकिन्छ । सो आयोजनाको बाँधस्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो । 

यस्तै सहसचिव घिमिरेकाअनुसार भ्रमणको क्रममा दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुमपा न्यू बुटवल गोरखपुर आयोजना अगाडि बढाउने विषय पनि अर्को महत्वपूर्ण एजेण्डाको रुपमा रहेको छ । ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् ल्याउने विषय समेत भ्रमणको क्रममा महत्वपूर्ण कार्यसूची रहनेछ । सो प्रसारणलाइनबाट हाल ८० मेगावाट विद्युत् आयात भइरहेको सन्दर्भमा आगामी हिउँदलाई ख्याल गरेर थप २५० मेगावाटसम्म विद्युत् आयात गर्ने सरकारको लक्ष्य रहेको छ । 

ढल्केबरमा निर्माणको क्रममा रहेको सवस्टेसनलाई आगामी चार महिनाभित्र सम्पन्न गरेर भारतबाट थप विद्युत् आयात गर्ने विषय नै मुलुकका लागि प्रमुख विषय रहेको सहसचिव घिमिरे बताउछन् । यस्तै नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौतालाई कार्यान्वयन गर्ने विषय पनि प्रधानमन्त्रीको भ्रमणको प्रमुख कार्यसूचीमा रहेको बताइएको छ । 

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पनि पञ्चेश्वर जलविद्युत् आयोजनाको कार्यान्वयनको विषय भारत भ्रमणको महत्वपूर्ण एजेण्डाको रुपमा रहेको बताइसकेका छन् । पिटिए भएको लामो समय भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा भारतीय लगानीकर्ता नेपालमा भित्रन नसकेको सन्दर्भमा त्यसको कार्यान्वयन नै महत्वपूर्ण कार्यसूची रहने बुझिएको छ । ऊर्जा मन्त्रालयले भ्रमणका क्रममा राख्नुपर्ने एजेण्डा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइसकेको जनाएको छ ।