काठमाण्डौ । सननेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले निकट भविष्यमा ६० करोड बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको छ । 

यो नयाँ जीवनबिमा कम्पनीको काठमाण्डौको लाजिम्पाटस्थित होटल सांग्रीलामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको हो । 

संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा संचालित साधारणसभाले वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७३/०७४ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७४/०७५ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण समेत गरेको छ । 

साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । 

कम्पनीले आर्थिक बर्ष ०७४/०७५ को पौष मसान्तसम्मको अवधिमा १४ वटा शाखा कार्यालय संचालन गरी करिव ३,६०० भन्दा बढी अभिकर्ता तयार गर्नूका साथै छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्रि गरी अधिराज्यभर आफ्नो सञ्जाल र कारोवार बिस्तार गरेको छ । 

कम्पनीले गत पौष मसान्तसम्मको अवधिमा कूल ३,०५२ बीमालेख बिक्री गरी कूल १०,२७,५४,९२२ (दश करोड सत्ताईस लाख चौवन्न हजार नौ सय बाईस) प्रिमियम संकलन गरी रु ८,१०,५९,८२४ (आठ करोड दश लाख उनान्साठी हजार आठ सय चौबीस) खुद मुनाफा आर्जन गरेको छ । 

साधारण सभामा संस्थापक अध्यक्ष सत्यनारायण क्याल, का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कम्पनीका महाप्रबन्धक कमलराज गौतमले कम्पनीको बारेमा प्रकाश पारेका थिए । 

यस्तै, कम्पनीको नयाँ संचालक समितिमा संस्थापक समूहका शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने संचालक पदमा अनुज क्याल, नारायण रुंगटा, किरण के.सी.,सशांक अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।साथै संचालकहरु मध्येबाट अध्यक्षमा अनुज क्याल निर्वाचित भएका बताइएको छ ।