काठमाण्डौ । राष्ट्रबैंकको समन्वय र दवाबमा ब्याजदरलाई एकल अंकमा सीमित गर्ने भद्र सहमति पुनः तोडिएको छ । 

सनराइज बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले भद्र सहमति तोडेका हुन् । 

केन्द्रीय बैंकको दवाबमा नेपाल बैंकर्स संघले केही समयअघि ब्याजदरको भद्र सहमति कायम गरेको थियो । सो सहमति अनुसार संस्थागत मुद्धती निक्षेपमा ९ प्रतिशत भन्दा बढी ब्याज दिन पाइन्न । यसमा  ०.५० प्रतिशत थप्न पाइने भएकोले बैंकहरुले बढीमा ९.५० प्रतिशत ब्याजमा मात्रै मुद्धती निक्षेप उठाउन पाउँछन् । 

तर, एनसीसी बैंक र सनराइज बैंकले नेपाल टेलिकमबाट भद्र सहमति तोड्दै ९.६५ प्रतिशत ब्याजदर दिएर २ अर्ब बढी निक्षेप उठाएका छन् । 

नेपाल टेलिकमले विभिन्न बैंकमा राखेको २ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप बढी ब्याज दिएर यी दुई बैंकले उठाएका एक बैंकरले जानकारी दिए । उनका अनुसार टेलिकमको निक्षेप राखेका साबिकका बैंकहरुले ९.५० प्रतिशत ब्याज अफर गरे पनि एनसीसी र सनराइजले ९.६५ प्रतिशत एनसीसी र सनराइजमा पाएपछि निक्षेप त्यहाँ सारेका छन् ।

‘भद्र सहमतिमा सबै पक्ष इमानदार बन्नुपर्छ । कोही चाहि सहमतिप्रति इमानदार बन्ने र कोही बेइमान बन्ने हो भने योपटकको सहमति पनि तोडिन्छ ।’ ती बैंकरले नाम उल्लेख नगर्ने शर्तमा भने–‘भद्र सहमति तोड्नेलाई बेलैमा कारबाही नभए अरुले पनि तोड्न थाल्नेछन् ।’