काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा सनराइज बैंकले ९४ करोड २१ लाख रुपैयाँ २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरको  छ । गत वर्ष सोही अवधिका तुलनामा बैंकले ९ दशमलव ८१ प्रतिशत बढी खुद मुनाफा आर्जन गरेको हो । गत वर्षको तेस्रो त्रैमासिक अवधिसम्म बैंकले ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद  मुनाफा आर्जन गरेको थियो । 
 
बैंकको व्याज आम्दानीमा पनि उल्लेख्य सुधार भएको तेस्रो त्रैमासको वित्तीय विवरणले देखाएको छ । समीक्षा अवधिसम्ममा बैंकले ५ अर्ब ४० करोड १४ लाख १५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गतवर्षको भन्दा १ अर्ब ७९ करोड २५ लाख ८२ हजार ४९ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ८८ लाख ३३ हजार रुपैँया ब्याज आम्दानी गरेको बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९२ करोड पुगेको छ । गत वर्ष बैंकको खुद व्याज आम्दानी १ अर्ब ६१ करोड  रहेको थियो । 
 
समीक्षा अवधिमा उल्ल्ेख्य ब्याज आम्दानी गरेको बैंकको सञ्चालन मुनाफा भने कम भएको छ । बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा १ करोड ४० लाख ९१ हजार रुपैयाँले कम हो । गत वर्ष बैंकले १ अर्ब १९ करोड ४५ लाख २४ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
 
यसैगरी बैंकमा निक्षेप तथा कर्जा प्रवाह समेत वृद्धि भएको देखिएको छ । बैंकमा १२ दशमलव २ प्रतिशतले निक्षेप वृद्धि भएको छ भने १३ दशमलव ९१ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको देखिएको छ ।   
 
उल्लेख्य व्याज आम्दानी गर्न सफल भए पनि बैंकका आन्तरिक खर्च व्यवस्थापन कमजोर हुँदा ब्याज आम्दानी अनुरुपको खुद नाफा थप गर्न व्यवस्थापन बलियाे पार्नुपर्ने देखिन्छ । बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात समेत कम गर्दै लगेको बैंकले प्रतिशेयर आम्दानी १५ दशमलव ४१ रुपैयाँ कायम गर्न सफल भएको छ ।