काठमाण्डौ । सनराइज बैंकले राष्टबैंकको निर्देशन बमोजिम आफ्ना ग्राहकहरुलाई चुस्त र गुणस्तरीय सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । 

बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय इटहरी , प्रदेश नं २ को लाहान, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा प्रादेशिक हेडक्वार्टर स्थापना गरी संचालनमा ल्याएको हो । 

प्रादेशिक कार्यालयहरुले आफू मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने बैंकको प्रष्टोक्ति छ ।

ती प्रादेशिक कार्यालयहरुको सामूहिक समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, संचालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका छन् ।

हाल यो बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग इकाई, ४ वटा एक्सटेन्सन काउण्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।