काठमाण्डौ । सनराइज बैंकले भिसासँगको सहकार्यमा आफ्ना सबै डेबिट तथा क्रेडिट कार्डको कारोबारमा रु. ५०० देखि १ हजारसम्मको नगद फिर्ता(क्यास ब्याक)को अफर सार्वजनिक गरेको छ । 

यो योजनाअन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी पस तथा अनलाइनमार्फत कारोबार गरेमा पाँचसय रुपैयाँदेखि एकहजारसम्म नगद बैंकले सो ग्राहकको खातामा जम्मा गरिदिनेछ ।

रु. ५ हजारदेखि १० हजारसम्मको पस वा अनलाइनमा भएको कारोबारमा रु. ५०० क्यास ब्याक दिइने, १० देखि १५ हजारसम्मको कारोबारमा ७५० रुपैयाँ र १५ हजार भन्दा माथिको कारोबारमा रु. १ हजार क्यास ब्याक दिइने बैंकले घोषणा गरेको छ । 

यो योजनाले सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्ग लाभान्वित हुने बैंकले विज्ञप्तिमार्फत दाबी गरेको छ । 

हाल सनराइज बैंकले देशभरमा १०३ शाखा, २८ शाखारहित बैंकिङ सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको छ ।