काठमाण्डौ । सनराइज बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तपुँजीको ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँको १० प्रतिशतको दरले हुन आउने ८१ करोड ५२ लाख ५५ हजार ५८५.१० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै लाभांश करसहितको चुक्तापुँजीको ५.८० प्रतिशतको दरले हुन आउने ४७ करोड २८ लाख ४८ हजार २३९।३६ रुपैयाँबराबर नगद लाभांश वितरणको प्रस्ताव पनि बैंकले गरेको छ ।

प्रस्तावित लाभांश बैंकको कात्तिक १५ गते हुन लागेको १२ औँ वार्षिक साधारणसभाबाट पारित हुँदैछ । साधारणसभाका लागि बैंकले कात्तिक १ गते बुक क्लोज गर्दैछ । त्यसैले आज असोज ३० गतेसम्म सेयरधनी कायम हुनेहरुले मात्र बैंकबाट प्रस्तावित लाभांशको भागिदार बन्न पाउने छन् ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न गराउन वा उपयुक्त दिएको अवस्थामा वैदेशिक रणनीति साझेदारीमा जाने प्रस्ताव पनि साधारणसभामा पारित हुनेछ । यसका लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौत ागर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

वार्षिक साधारणसभाले बैंकको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण वित्तीय प्रतिवेदनहरु पनि छलफलपछि पारित गर्नेछ ।