काठमाण्डौ । अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरुसँग मर्जर वा प्राप्ति मुख्य अजेन्डासहित सनराइज बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ ।

बैंकको गत असोज १५ गते बसेको बैठकले वार्षिक साधारणसभा काठमाण्डौँको नक्साल बैंक्वेटमा गर्ने टुंगो लगाएको थियो ।

साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गरिने प्रस्ताव गरिएको चुक्तपुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँको १० प्रतिशतको दरले हुन आउने ८१ करोड ५२ लाख ५५ हजार ५८५.१० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने पारित गर्नेछ । त्यस्तै लाभांश करसहितको चुक्तापुँजीको ५.८० प्रतिशतको दरले हुन आउने ४७ करोड २८ लाख ४८ हजार २३९.३६ रुपैयाँबराबर नगद लाभांश वितरणको प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

यीसँगै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न गराउन वा उपयुक्त दिएको अवस्थामा वैदेशिक रणनीति साझेदारीमा जाने प्रस्ताव पनि साधारणसभामा पारित हुनेछ । यसका लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौत ागर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

वार्षिक साधारणसभाले बैंकको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण वित्तीय प्रतिवेदनहरु पनि छलफलपछि पारित गर्नेछ ।