काठमाण्डौ । सनराइज बैंक लिमीटेडले राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउन सेयरधनीलाई १ अर्ब बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । 

बैंकले हालै एक विज्ञप्तिमार्फत पूँजीवृद्धिको पछिल्लो अपडेट सार्वजनिक गर्दै करिब १ अर्ब बराबरको बोनस सेयर वितरण गरी ८ अर्ब पूँजी पुर्याउने प्रष्टाएको हो । 

यो बैंकले हालै १० बराबर ३ को अनुपातमा हकप्रद बिक्रीपछि चुक्तापूँजी ७ अर्ब २ करोड पुुगेको छ । ‘आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बोनस सेयर जारी गरी राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुरयाउनेछौ ।’–बैंकले जारी गरेको विज्ञप्तिमा भनेको छ । 

सनराइज बैंकले गत बैशाख अन्तिम साता आफ्ना सेयरधनीहरुलाई १० बराबर ३ को अनुपातमा हकप्रद बिक्री गरेको थियो । कुल १ अर्ब ६३ करोड बढीको हकप्रदको बिक्री खुलाएको थियो । त्यसमध्ये बिक्री नभएको ७ लाख १३ हजार ३ सय ४२ कित्ता बिक्री भएको थिएन । बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्ने र सबै हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ७ अर्ब २ करोड पुुग्ने बताइएको छ ।